महानायकले गाए ‘गांउले ठिटो’आफ्नै देशमा राम्रो भन्दै दिए सन्देश

काठमाण्डौं, माघ १७
सिनेकला संवाददाता
आजभोली नायक नायिकाहरु पनि गीत गाउने थालेका छन । पछील्लो समय चलचित्र तथा म्युजिक भिडियोमा अभिनय गरेसंगै आँफै गीत गाएको भिडियो तथा तस्बिर हरु सामाजिक सञ्जालमा यत्रतत्र छरिएका छन ।
यही क्रममा महानायक अभिनेता राजेश हमालले फेरी पनि अर्को एक गीत गाएका छन् ।
आफ्नो चलचित्र करिअरको तीन दशकपछि हमालले तीन महिनाअघि पहिलोपटक गीत रेकर्ड गराएका थिए । पहिलोपटक ‘मन बुढो भएन’ बोलको गीत गाएका हमालले शुक्रबार मात्रै ‘गाउँले ठिटो’ बोलको नयाँ गीत रेकर्ड गराएका हुन् ।
हमालले गाएको नयाँ गीतमा गोविन्द भट्टको शब्द र सन्तोष श्रेष्ठको संगीत छ । गीतलाई गोपाल रसाइलीले एरेञ्ज गरेका छन् ।
संगीतकार श्रेष्ठले गीत रमाइलोसँगै सन्देशमूलक रहेको बताए । ‘विदेशमा गएकाहरुलाई नेपालमै राम्रो छ, गाउँमै राम्रो छ । विदेश गएका फर्किउन्, यहाँका विदेश नजाउन् र गएर आएकाहरु फेरि नफर्किउन् भन्ने खालको सन्देश गीतले बोकेको छ,’ संगीतकार श्रेष्ठले गीतबारे भने ।
ग्रामीण परिवेश आउने खालको गीत र भिडियो गर्ने राजेशको सोच अनुसार सहकार्य भएको श्रेष्ठले बताए । हमालले एकल स्वर र अभिनयमा ग्रामीण परिवेश आउने गरी सन्देशमूलक गीत गाउने चाहना राखेका थिए । संगीतकार श्रेष्ठका अनुसार अनुसार चार-पाँच पटकको बसाइपछि यो गीत रेकर्डिङ गरिएको हो ।
‘उहाँबाट व्यावसायिक गायक/गायिकाहरुको जस्तो आशा गर्न मिल्दैन,’ श्रेष्ठले भने, ‘संगीतकारको हिसाबले सुन्दा तालमा टाइमिङ पर्फेट गाउनुहुन्छ । किनभने टाइमिङमा नगाएको भए गाह्रो हुन्थ्यो । बरु अहिले सुर त लगाउन मिल्छ तर तालमा परेन भने गाह्रो हुन्छ । उहाँ डान्स गरिरहेको हुनाले पनि टाइमिङमा हुँदोरहेछ ।’
अहिले मिक्सिङ भइरहेको गीतको केही दिनमा भिडियो छायांकन हुँदैछ । देवेन्द्र पाण्डेको निर्देशनमा ग्रामीण परिवेशमा तयार हुने भिडियोमा राजेश नै मुख्य भूमिकामा देखिनेछन् । संगीतकार श्रेष्ठले अभिनेता हमालसँग सहकार्य गर्न पाउँदा एकदमै खुशी लागेको बताए ।