पोइट आइडियलको उत्कृष्ट छ भित्र ‘मुनु’

कैलालीका मुनु अधिकारी कवितामा आधारित नेपालकै पहिलो रियालिटी सो पोइट आइडियलमा उत्कृष्ट छ जनामा पर्न सफल हुनुभएको छ । घोडाघोडी नगरपालिका –१ सुखडमा बुवा जीवन अधिकारी र आमा सीता अधिकारीको कान्छी छोरी मुनु भारतमा चार्टड अकाउन्ट (सीए) को पढाई पूरा गर्ने चरणमा हुनुहुन्छ । 

हाल बुवाआमासँगै काठमाडौं बस्नुहुने उहाँले साहित्यिक कार्यक्रममा आएर चर्चा बटुली रहनुभएको छ । सयौँ प्रतिस्पर्धीलाई उछिन्दै अन्तिम १४ जनामा उत्कृष्ट ६ जनाभित्र मुनु पर्न सफल हुनुभएको हो ।

अहिले छैटौँ प्रतिस्पर्धी मध्येकी मुनु रातदिन आफूलाई निर्देशकले दिएको विषयवस्तुमा कवितामार्फत यथार्थतामा उतार्न मेहनत गरिरहनुभएको छ । मुनु भन्नुहुन्छ, ‘जुनसुकै विषयवस्तुमा कविता लेख्दा आफूलाई त्यहाँ पाउँछु, जे लेख्छु दिलदेखि लेख्छु ।’

मुनुकी आमा सीता अधिकारीले छोरीमा कविताप्रतिको मोह आफूहरूले एक्कासि थाहा पाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कविता रियालिटी सो’ मा छनौट भएको हामीलाई थाहा नै थिएन, छोरीले आफ्नो कविताप्रतिको मोहबारेमा छनौट भएको खबर हामीलाई सुनाउँदा अचम्म लाग्यो ।’

मुनुले ‘मेरा आँखाहरू सायद मेरै मृत्युको साक्षी बस्न चाहेनन्, म हत्यारा हुँ, चमेलीको रातो रिबन, म आफैले आफैलाई निर्धक्क मारेको हेर्न सकेनन्’ लगायत थुप्रै मर्मस्पर्शी कविताले निर्णायकसँगै दर्शकहरूको मन जितेकी छन् ।

मुनुका बुवा जीवन अधिकारी छोरीको सिर्जनाले चर्चा पाउँदा खुसी लागेको बताउनुभयो ।  आगामी शृङ्खलाका लागि सुदूरपश्चिमवासी सबैले भोटगरी छोरीलाई अन्तिम विजेता बताइ दिन पनि उहाँले आग्रह गर्नुभयो । 

एपी वान टेलिभिजनमा हरेक हप्ता बिहीबार र शुक्रबार राति ८ः३० बजे पोइट आइडियल रियालिटी सो प्रसारण हुँदैआएको छ । ‘रियालिटी सो’ का निर्देशक अमनप्रताप अधिकारीले सुरुको छनौट प्रक्रिया डिजिटल अडिशनबाट प्रतियोगिता लेखेर पठाएको कविताबाट छनौट गरेको बताउनुभयो । 

३३ 󠅀शृङ्खलासम्म चल्ने रियालिटी सोको अब पाँच शृङ्खला बाँकी छ । डिजिटल अडिसनमा विदेशबाट ५० जना र देशभित्रबाट १५० जनाले भाग लिएका छन् ।  डिजिटल अडिसनबाट छनौट भएका प्रतियोगीलाई फिजिकल अडिसनमा सहभागिता गराइएको छ । मुनु पनि डिजिटल अडिसनबाट छनौट हुनुभएको हो । 

अन्तिम बिजेताले १० लाख नगद पुरस्कार पाउने छन् । यात्रा पब्लिकेशनसँग किताब लेख्नका लागि पाँच लाखको सम्झौता गरिने समेत निर्देशक अधिकारीले बताउनुभयो । 

About The Author

Leave a Reply

Your email address will not be published.