मुन्धुम सभ्यता जोगाउन संकल्प
किराँत सभ्यतासँग जोडिएको सांस्कृतिक सम्पदा मुन्धुम क्षेत्रका स्थानीय तहले यस क्षेत्रको विकास र प्रवद्र्धन गर्न साल्पासिलिछो संयुक्त संकल्प पत्र जारी गरेका छन् । समुद्र सतहबाट तीन हजार सात सय ४३ मिटर उचाइमा अवस्थित भोजपुरको साल्पासिलिछो गाउँपालिकाको साल्पापोखरीमा भएको सम्मेलनबाट उनीहरुले २४ बुँदे संकल्प पत्र जारी गरेका हुन् ।
साल्पासिलिछो गाउँपालिकाको आयोजनामा तथा जी फाउण्डेसनको साझेदारीमा भएको सम्मेलनमा मुन्धुम पदमार्गसँग जोडिएका भोजपुर, खोटाङ, सोलुखुम्बु र संखुवासभाका ११ स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, पदमार्गले छोएका वडाका वडाध्यक्ष, भोजपुरका प्रमुख जिल्ला अधिकारी, साझेदार संस्था र सरोकारवालाको सहभागिता रहेको थियो ।
यस क्षेत्रका स्थानीय तह ‘मन्धुम ट्रेल–साल्पा सिलिछो’ क्षेत्र आफैँमा किराँत सभ्यताको अमूर्त सांस्कृतिक सम्पदा भएकाले सम्पदामा जोखिम हुने गरी कुनै पनि पूर्वाधार विकासका गतिविधिमा रोक लगाउनका लागि सहमति गरिएको छ । साथै मुन्धुम ट्रेलको ६० प्रतिशत खण्ड स्तरोन्नति भइसकेको र बाँकी ४० प्रतिशत खण्ड पनि तत्काल स्तरोन्नति गर्न सबै सहमत भएका छन् ।सप्तकोसी खुवालुङदेखि चोमेलुङसम्म ‘ग्रेटर मुन्धुम ट्रेल’ विस्तार गर्न बजेट विनियोजनका लागि पहल गर्न पनि यस क्षेत्रका पालिका सहमत भएका छन् । साल्पापोखरीदेखि हुँगाखोला महाकुलुङ, आम्फुलाप्चा पास हुँदै सगरमाथा बेसक्याम्प जाने भागको खोजी गर्न बाँकी छ । सप्तकोसी खुवालुङ उपत्यकालाई ग्रेटर मुन्धुम ट्रेलको पदैलमार्गका रुपमा विकास गर्दै सगरमाथा क्षेत्र पुग्ने पर्यटकसमेत खुवालुङ हुँदै कोसीटप्पुसम्म आइपुग्ने पदमार्गलाई ग्रेट मुन्धुम ट्रेलका रुपमा लिइएको छ ।
संकल्प पत्रमा सन् २०२५ मा मुन्धुम ट्रेलमा कम्तीमा एक लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । त्यसपछिका वर्षमा थप पर्यटक निरन्तर वृद्धि गरी भोजपुर, खोटाङ, सोलुखुम्बु, संखुवासभा, सुनसरी र उदयपुर जिल्लाका समृद्धिको आधार मुन्धुम ट्रेल बनाउने लक्ष्यका साथ ‘मुन्धुम ट्रेल भ्रमण वर्ष २०२५’ मनाउने कार्यका लागि सबै गाउँपालिकाले बजेट विनियोजन गर्न सहमत भएका छन् ।
यस्तै किराँतको उत्पत्ति थलो, मन्धुमको विकास भएको, किराँतको प्राग ऐतिहासिक थलो साल्पापोखरी सिलिचुङ पवित्र तीर्थस्थल भएकाले मुन्धुममा वर्णित सांस्कृतिक पात्रहरु, मूल्य मान्यता र जनविश्वास प्रतिविम्बित हुने गरी विकास गर्न छुट्टै बजेट आवश्यक भएकाले उक्त बजेट व्यवस्था गर्न सम्बन्धित निकायमा पहल गर्न सहमति भएको छ ।
मुन्धुम पदमार्गको ‘लाइफलाइन’का रुपमा रहेको पदमार्ग क्षेत्रमा रहेका गोठहरुलाई संगठिक गरिने पनि संकल्प पत्रमा उल्लेख छ । हाल ‘मुन्धुम गोठस्टे’ समिति गठन गरी मुन्धुम पदमार्ग भ्रमण गर्ने पर्यटकलाई केही गोठहरुले सेवा दिन सुरु गरेका छन् । थप गोठहरुलाई बाह्रै्र महिना पर्यटकलाई सेवा दिनेगरी सुधार गर्दै पर्यटकमैत्री बनाउन हाल खानेपानी, शौचालय, सुत्ने तथा बस्ने कोठा, लत्ताकपडासहित न्यूनतम पूर्वाधार गोठको निर्माणका लागि बजेट व्यवस्था गर्न सहमत भएका छन् ।
साल्पासिलिछो गाउँपालिकाका अध्यक्ष दौलथ कुलुङले यस क्षेत्रको प्रवद्र्धन गर्न सबै पालिकको सहयोग आवश्यक भएको बताए । उनले भने, ‘जलवायु परिवर्तनको असर हामीले भोगिरहेका छौँ, जलवायु परिवर्तनविरुद्ध आवाज उठाउन हामीले यो उचाइमा सम्मेलनको आयोजना गरेका हाँै ।’ भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आलेले यस क्षेत्रमा पर्यटक भित्र्याउन सडक र पदयात्रा मार्ग दुवैको विकास गर्नुपर्ने बताए ।