राष्ट्रिय चलचित्र पुरस्कारका लागि बोर्डले माग्यो आवेदन

चलचित्र विकास बोर्डको २३औँ वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गर्नको लागि पछिल्ला दुई वर्ष रिलिज भएका नेपाली चलचित्रहरूको आवेदन माग गरेको छ । त्यस्तै, विशेष चलचित्रको प्रतिस्पर्धाको लागि पनि पछिल्ला दुई वर्षभित्र जाँचपास भएका नेपाली चलचित्रहरूको आवेदन माग गरेको हो ।
आइतबार सूचना जारी गर्दै बोर्डले २०७८ वैशाख १ देखि २०७९ चैत मसान्तभित्रका चलचित्रहरूलाई आवेदन दिन माग गरेको हो ।
राष्ट्रिय चलचित्र पुरस्कारमा सहभागी हुन २०७८ वैशाख १ देखि २०७९ चैत मसान्तभित्र जाँचपास भई प्रदर्शनसमेत भएको हुनुपर्ने र विशेष चलचित्रको हकमा भने २०७८ वैशाख १ देखि २०७९ चैत्र मसान्तभित्र जाँचपास भएका चलचित्रहरूले सहभागिता जनाउन सक्ने बोर्डका प्रवक्ता केएल बुढाथोकीले बताउनुभयो । आदिवासी, जनजाति एवम् विभिन्न मातृभाषाका चलचित्रको हकमा भने उक्त समय सीमाभित्र जाँचपास मात्र भएको भएपनि राष्ट्रिय पुरस्कारमा सहभागी हुन सक्नेछन् ।
राष्ट्रिय पुरस्कारमा सहभागी हुन २०८० वैशाख ३० गतेभित्र र विशेष चलचित्रको प्रतिस्पर्धामा सहभागी हुन २०८० वैशाख २४ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । प्रवक्ता बुढाथोकीले निर्धारित समय सीमाभित्र आफ्ना चलचित्रहरूलाई बोर्डको कार्यालयमा आवेदन दिएर प्रतिस्पर्धामा सहभागी गराउन फिल्म मेकरलाई अपिल गर्नुभएको हो ।
विभिन्न कारणले गत वर्ष पुरस्कार प्रदान तथा विशेष चलचित्र घोषणा हुन सकेको थिएन । यस पटकको राष्ट्रिय चलचित्र पुरस्कारमा दुई वर्षका चलचित्रहरूले एकसाथ प्रतिस्पर्धा गर्नेछन् भने विशेष चलचित्र दुई फरक वर्षका ३–३ वटा चलचित्रहरू गरी छ वटा घोषणा हुनेछन् ।
कला, संस्कृति, रहनसहन, परम्परा, मानवीय संवेदना, मनोविज्ञान, राष्ट्रिय स्वाभिमान एवं कला र प्रविधिमा रचनात्मक प्रयोग सहित राष्ट्रियरुपमा योगदान पुर्याउनसक्ने चलचित्रहरूलाई प्रोत्साहन दिन विशेष चलचित्रको प्रतिस्पर्धा गरिएको प्रवक्ता बुढाथोकीले बताउनुभयो । विशेष चलचित्र घोषणा हुने सबै चलचित्रहरूलाई अन्तर्राष्ट्रिय भाषामा सबटाइटलमा हुने खर्चस्वरुप प्रति चलचित्र दुई लाख रुपैयाँ बोर्डले प्रदान गर्ने गर्दछ ।
यस्तै, विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा सहभागिताको लागि बोर्डले सहजीकरण गर्ने गर्दछ । राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेका तथा विशेष चलचित्र घोषणा भएका चलचित्रहरू बोर्डले गर्ने विभिन्न महोत्सवहरू तथा घुम्ती सिनेमा प्रयोजनको लागि निर्माताले उपलब्ध गराउनुपर्दछ ।
उत्कृष्ट लेखन (कथा, पटकथा तथा संवाद), उत्कृष्ट छायाङ्कन, उत्कृष्ट सम्पादन, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट अभिनेता, उत्कृष्ट निर्देशक र उत्कृष्ट चलचित्रलाई राष्ट्रिय चलचित्र पुरस्कार प्रदान हुने गर्दछ । उल्लेखित विधाहरू बाहेक निर्णायक समितिलाई अभूतपूर्व लागेमा बढीमा दुई विधामा समेत पुरस्कारका लागि सिफारिस हुनेछ । बोर्डले आफ्नो वार्षिकोत्सवको अवसरमा राष्ट्र प्रमुखबाट राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान प्रदान गर्ने भएको छ ।