डेढ दशकपछि विपना थापा ‘कम ब्याक’

 साम्राज्ञी राज्यलक्ष्मी राणाले अभिनय गरेको फिल्म हेरेर मनोरञ्जन लिने पुस्ताले विपना थापालाई नचिनेका हुन सक्छन् । विपना अभिनित कतिपय फिल्म युट्युबमा भेटिए पनि पुरानो प्रविधिमा निर्मित फिल्मको चर्को साउन्ड र धमिलो प्रकाशले अहिलेका पुस्ताका दर्शकलाई झट्टै आकर्षण गर्दैन । एउटा यथार्थ के हो भने विपना पनि आफ्नो जमानामा अहिलेको साम्राज्ञीजस्तै महँगी नायिका थिइन् । सामाजिक सञ्जाल नहुँदा उनलाई हेर्नकै लागि घण्टौं हिँडेर हलमा पुग्ने दर्शक हजारौं थिए ।

उनै विपनाले नयाँ चलचित्र ‘ह्रस्व दीर्घ’मा अभिनय गर्ने भएकी छन् । विवाहपछि भारतमै बस्दै आएकी विपनाले चलचित्र ह्रस्व दीर्घबाट आफू पुनः नेपाली चलचित्रमा फर्किन लागेको बताइन् । निता ढुंगानाले निर्माण गरेको यो चलचित्रबाट कमब्याक गर्न लागेकी विपना भन्छिन्, ‘मलाई निताले ‘कमब्याक गराइन् । सुटिङको तयारीका साथ केही दिनमै फेरि नेपाल आउँदै छु ।’ तिनै तिनै कलाकार हुन् अशोक शर्मा निर्देशित चलचित्र ‘मितिनी’मा विपना नायिका थिइन् भने विपनाको बाल्यकालको भूमिका निताले निर्वाह गरेकी थिइन् ।

आफू घर व्यवहारबाट फुर्सदिलो भएकाले अभिनयलाई निरन्तता दिन लागेको विपनाको भनाइ छ । काठमाडौंमा आयोजित चौथो स्पर्श म्युजिक भिडियो अवार्डमा ‘सिल्भर जुल्बी एक्ट्रेस अवार्ड’बाट सम्मानित विपना समारोहमा भावुक भइन् । अवार्ड आयोजक नायकद्वय यसराज गराच र दीक्पाल कार्कीलाई धन्यवाद दिँदै उनले भनिन्, ‘१५ वर्षपछि नेपाली फिल्ममा फर्किनुलाई पनि मैले मप्रतिको सम्मानका रूपमा बुझेकी छु ।’

२०५१ सालमा रिलिज भएको चलचित्र ‘जन्मभूमि’बाट अभिनय सुरु गरेकी विपनाले डेढ दशकमा ५ दर्जनभन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेकी छन् । भारत बस्दा आफूले हरेक दिन नेपाली चलचित्र उद्योगलाई ‘मिस गर्दै आएको’ बताएकी विपनाले राजधानीसँग भनिन्, ‘पारिवारिक कारणले म केही समयका लागि चलचित्रबाट टाढा भएको मात्र हुँ र मेरो मनबाट नेपाली चलचित्र कहिल्यै हट्दैन ।’ आपूmलाई विपना थापा भनेर नेपाली चलचित्र उद्योगले चिनाएकाले बाँचुन्जेल नबिर्सने धारणा राखिन्, ‘म पलाएन भएको छैन । म अझै धेरै नै काम गर्न चाहन्छु र दर्शकको पहिलाको जस्तै माया फेरि पनि चाहन्छु ।’

विपना भारतमै भएका कारण चाहेर पनि उनलाई चलचित्रकर्मीले सिनेमामा प्रस्ताव गरेका छैनन् । तर, अब भारतको दिल्लीबाट नेपाल अत्यन्त सस्तो भाडामा जहाजमा आउन सक्ने भएकाले आफू चलचित्रमा भनेकै समयमा प्रस्तुत हुन सक्ने प्रतिबद्धता यिनले जनाएकी छन्, ‘काठमाडौंबाट धनगढी जानभन्दा दिल्ली जान भाडा सस्तो छ । त्यसैले मलाई नेपाल आएर चलचित्रमा काम गर्न कुनै समस्या पर्ने छैन ।’

चलचित्र उद्योगमा धेरै परिवर्तन आएको अनुभव गरेकी विपना एउटै नेपाली चलचित्रले २०÷२५ करोडको व्यापार नेपालमै गर्न थालेको खबरले खुसी छिन् ।

About The Author

Leave a Reply

Your email address will not be published.