पठानको रेकर्ड जवानले तोड्यो

बलिउड अभिनेता शाहरुख खानको पछिल्लो नयाँ फिल्म ‘जवान’ले बलिउडको अहिलेसम्मको सबै व्यावसायिक रेडर्क तोडेको छ । उनको यस फिल्मले भारतमा सर्वाधिक व्यापार गरेको छ ।
त्यसो त शाहरुखले यस वर्षको सुरुमा फिल्म पठानमार्फत बलिउड बक्स अफिस कब्जा गरेका थिए । सो फिल्मले भारतमा कुल ५ सय ४३ दशमलव शून्य ५ करोडको व्यापार गरेर नयाँ रेकर्ड बनाएको थियो । शाहरुखको पठानको रेकर्ड अहिले उनकै अर्को फिल्म जवानले तोडेको हो ।
त्यसो त यस वर्ष अहिलेसम्म ३ बलिउड फिल्म ५ सय करोड क्लबमा प्रवेश गरिसकेका छन् । पठान, गदर–२ र जवानले ५ सय करोडको रेकर्ड बनाइसकेका छन् । जहाँ पहिलो दुई फिल्मले आफ्नो कलेक्सनका साथ बलियो कीर्तिमान बनाए । फिल्म जवानको व्यापार तेस्रो साता पुग्दा पनि त्यत्तिकै तीव्र गतिमा अगाडि बढिरहेको छ ।
भारतमा यस फिल्मले १७ दिनमा ५ सय ४८ दशमलव २५ करोडको कलेक्सन गरिसकेको छ । जबकि, पठानले यसअघि ५ सय ४३ दशमलव शून्य ५ करोडको व्यापार गरेर नयाँ रेकर्ड बनाएको थियो । यो रेकर्ड अहिले जवानले तोडेको हो । यसरी शाहरुख खानको जवान अहिलेसम्मको सबैभन्दा धेरै कमाउने बलिउड फिल्म बनेको छ । बलिउडको फिल्म नचल्ने भनिएको साउथमा नै यस फिल्मले ५६ दशमलव २१ करोडको व्यापार गरेको छ ।
जवान अहिलेसम्म बनेको सबैभन्दा ठूलो फिल्म मात्रै होइन, सबैभन्दा छिटो ५ सय करोड क्लबमा प्रवेश गर्ने भारतीय फिल्म पनि साबित भएको छ । हिन्दी कलेक्सनलाई हेर्दा जवानले १८ दिनमा ५ सय करोडको आँकडा पार गरेको हो, जहाँ ५ सय करोडको व्यापार भारतमा गर्न बाहुबली २ लाई ३४ दिन, पठानलाई २८ दिन र गदर २ लाई २४ दिन लागेको थियो ।
सन् २०२३ मा शाहरुख खानले बक्स अफिसमा राज गर्दै छन् भन्नेमा कुनै शंका छैन । डिसेम्बरमा राजकुमार हिरानीको डन्कीमा शाहरुखले अरू नयाँ के रेकर्ड राख्छन् कि राख्दैनन्, त्यो भने हेर्न बाँकी नै छ ।