सुरेशको अधुरो कथालाई संगीतकार शंकरले हे दैवमा उतारे

गीत विभिन्न शैलीका हुन्छ । तर फरक शैलीको भएकै कारण यतिबेला एउटा गीत ‘हे दैव…’ चर्चामा छ । फगत, गीत मात्र नभएर कसैको वास्तविक जीवनमा आधारित यो गीतमा सांगीतिक चलचित्र नै बनेको छ । यो गीति कथाको भिडियो सार्वजनिक समारोहमा अतिथिदेखि दर्शकसम्मले आँशु थाम्न सकेनन् ।

कथा ती सुरेश केरुङको हो । जो संगीतमै भविष्य बनाउन लागिपरेका थिए । केरुङको दुर्घटनामा परि गत वर्ष अमेरिकामा असामयिक निधन भएको थियो । साथी सुरेशलाई गुमाउँदाको पीडाले एउटा संगीतकारलाई भावुक बनायो । ती संगीतकार हुन शंकर थापा स्माइल । उनले सुरेशप्रति श्रद्धासुमन अर्पण गर्दै उनकै जीवनीमा गीतिकथा ‘हे दैव’ तयार परेका हुन् ।

सामान्यतयाः एउटा गीतको लम्बाई ३ देखि ५ मिनेट लामो हुने गर्छ तर, शंकरले आफ्नो संगीतमा गीति कथा तयार गर्दा ‘हे दैव’ २० मिनेट लामो बन्यो । गीतलाई यति लामो बनाउने चाहना त संगीतकार थापाको थिएन तर, यो गीतमा जुन कथा भनिएको छ, त्यसका लागि यो समय पनि अझ कम भएको उनको कथन छ ।

कसैको वास्तविक जीवनका पलहरुलाई सांगीतिक रुपमा प्रस्तुत गर्नु चानचुने कुरा छदै थिएन । त्यसमाथी २० मिनेटसम्म स्रोता तथा दर्शकलाई बाँधी राख्नु पर्ने चुनौति थियो । तर, यो चुनौतिमा संगीतकार थापा खरो उत्रीए । सार्वजनिक भएको तीन दिनमै ‘हे दैव’ युट्युब ट्रेण्डिङ्गको शिर्ष स्थानमा पुग्यो । जसमा संगीतकार थापाको कामको पनि यतिबेला प्रसंसा भइरहेको छ ।

सुरेश केरुङको जीवनमा आधारित गीतमा विक्रम साङपाङको शब्द र राजेश पायल राई, प्रविशा अधिकारी र सुनिता थेगिमको स्वर रहेको छ । यस्तै भिडियोमा माओत्से गुरुङ, कविता आले, बुद्धि तामाङ, एलिशा राई, रजनी गुरुङलगायतको अभिनय रहेको छ ।

राजधानीमा आयोजित ‘हे दैव’को बिमोचन समारोहमा भिडियो हेरेपछि यही गीतका गायक राजेश पायल राईले आफुलाई सम्हाल्नै सकेनन् । आफुले आठ हजार भन्दा बढी गीत गाउको भएपनि यो गीत आफ्ना लागि स्मरणयोग्य भएको भन्दै गायक राईले भने,‘संगीत नै ‘हे दैव’को मेरुदण्ड हो । संगीतकार थापाले पहिलो पटक कम्पोज सुनाउँदा नै मेरा आँखा रसाएका थिए ।’ एउटै गीतमा बिभिन्न इमोशनहरु उत्कृष्ट तवरले संयोजन गर्न संगीतकार थापा सफल भएको पनि उनले उल्लेख गरे ।

खासगरि एउटै गीतभित्र संगीतकार थापाले प्ले गरेका विभिन्न इमोशनहरुलाई धेरैले रुचाएका छन् । २० मिनेट लामो अवधीमा संगीतकै माध्यमबाट हाँसो, खुशी, संघर्ष, सफलता, वियोग, दुःख, पिडा जस्ता भावनाहरु प्रतिबिम्बित गर्न संगीतकार थापा सफल छन् । चलचित्रमा पटकथा लेखेर त्यसैका आधारमा छायाँकन गरिन्छ । यो सांगीतिक चलचित्रमा भने गीतले अभिब्यक्त गरेको भावनाका आधारमा भिडियो तयार गरिएको हो । संगीतकार थापा आफुले चुनौति नै मोलेर तयार पारेको यो गीतको सफलताले आत्मसन्तुष्टि मिलेको राजधानीलाई बताएका छन् ।

कार्यक्रमका बिशेष अतिथी नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका परिषद सदस्य चेतन सापकोटाले भिडियो हेरेपछि आँसु रोक्न सकेनन् । उनले संगीतकार थापाको सृजनाको खुलेरै तारिफ गर्दै भने,‘एउटै गीतमा बिभिन्न मुडहरु समावेश गर्नु हरेक संगीतकारको लागि चुनौति पूर्ण हुन्छ, संगीतकार थापा यो चुनौतिमा शशक्त रुपमा प्रस्तुत भएका छन् ।’

यस्तै भिडियोकी कलाकार बरिष्ठ अभिनेत्री कविता आले निरन्तर रुपमा भावुक देखिइन । भिडियोमा स्वर्गिय केरुङको आमाको भूमिकामा देखिएकी उनले गीत सुन्दा नै त्यसमा सिङ्गो जीवन पाएको बताइन । कलाकार आलेले संगीतकार शँकरसँगै सो गीति कथाका निर्देशक देवजङ्ग थापाको कामको पनि तारिफ गरेकी छिन ।

About The Author

Leave a Reply

Your email address will not be published.