‘आउटलः दफा २१९’ को ओएसटी सार्वजनिक, दर्शकबाट सकारात्मक प्रतिक्रिया

काठमाडौं / फागुन २९ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘आउटलः दफा २१९’ को ओएसटी (ओरिजिनल साउन्ड ट्र्याक) सार्वजनिक गरिएको छ। ‘अन्धो कानुन’ बोलको गीतमा सरकार र नेताहरूको गलत प्रवृत्तिमाथि प्रहार गरिएको छ। कानुन अन्धो हुँदा समाजमा नारीहरू कसरी अन्यायमा परिरहेका छन् भन्ने कुरालाई गीतले उठान गरेको छ।
मिस्टर डीको संगीत तथा र्याप रहेको यो गीतमा गायिका नितु पुन को स्वर छ। भिडियोको निर्देशन, सम्पादन तथा कन्सेप्ट दिर्घ धामी को रहेको छ। कार्यकारी निर्देशन सलिना सुनार ले सम्हालेकी छन् भने निर्देशन टिममा साजेश बलामी पनि छन्। गीतको कोरियोग्राफी राजेश कुटु ले गरेका छन्।
गीत सार्वजनिक भएसँगै दर्शकबाट अत्यधिक सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ। जनताको आवाज बोल्ने गीत भएकाले सिनेमाप्रति थप उत्साह जागेको दर्शकहरूले प्रतिक्रिया दिएका छन्। गीतमा सरकारमा बारम्बार उही व्यक्ति सत्तामा आउने, जनतामाथि अन्याय गर्ने, बलात्कारीलाई संरक्षण गर्ने जस्ता विषयलाई कटाक्ष गरिएको छ।
विक्की महर्जन को लेखन तथा निर्देशन रहेको सिनेमामा अमित अग्रहरी र निशा गुइडे को लगानी छ। पटकथा विक्की महर्जन र दिर्घ धामी ले तयार गरेका छन् भने कार्यकारी निर्माता विनोद कठायत हुन्।
सिनेमामा सुशील श्रेष्ठ, नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेममान गुरुङ, सोनी लागुन, विशाल पहारी, महेश त्रिपाठी र आयन परियार को अभिनय रहेको छ।
एक्सन निर्देशक चुल्ठे काजी रहेका छन् भने सिनेमाको सम्पादन साहिल खान ले गरेका छन्। यसअघि सार्वजनिक ट्रेलरलाई दर्शकले अत्यधिक मन पराएका थिए। सिनेमाको मेकिङ, प्रस्तुति, कलाकारहरूको अभिनय र एक्सनको उच्च प्रशंसा भइरहेको छ। यसले गर्दा ‘आउटलः दफा २१९’ ले बक्स अफिसमा राम्रो प्रदर्शन गर्ने विश्वास गरिएको छ।