‘होस्टेल ३’ को ‘राजा रानी’ गीत सार्वजनिक, दर्शकको उत्साहजनक प्रतिक्रिया

काठमाडौं / नेपाली सिनेमा ‘होस्टेल ३’ ले दोस्रो दिन पनि उत्कृष्ट प्रदर्शन गर्दै दर्शकको मन जितिरहेको छ। सिनेमा को सफलतासँगै खुसीयाली साट्ने अवसरको रूपमा समावेश गरिएको क्लब गीत ‘राजा रानी’ सार्वजनिक भएको छ।
किरण माइकलको सङ्गीत रहेको यस गीतमा सुजाता पाण्डे, सशान कँडेल, र किरण माइकल को स्वर रहेको छ भने वेला बोम्जन र सुधा मरहट्ठा ले गीत लेखेका छन्। गीतमा नृत्याङ्गना आश्मा विश्वकर्मा को पावरफुल डान्स देख्न सकिन्छ भने भिडियोमा ‘होस्टेल ३’ का कलाकार रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ लगायत पार्टी मुडमा देखिएका छन्। अभिनेता पारस बम भने फरक मुडमा प्रस्तुत भएका छन्। गीतको कोरियोग्राफी रोशन विश्वकर्मा ले गरेका हुन्।
शुक्रबार रिलिज भएको ‘होस्टेल ३’ ले विकेन्ड ओपनिङमा उत्साहजनक व्यापार गरिरहेको छ। वितरकहरूका अनुसार, सिनेमा ले अपेक्षाभन्दा राम्रो व्यापार गरेको छ। काठमाडौं उपत्यकामा काफिया फिल्म्स (गोविन्द शाही) तथा उपत्यका बाहिर आरआर फिल्म्स (रोहित कट्टेल, रत्न श्रेष्ठ) ले सिनेमा को वितरण गरिरहेका छन्।
यसैबीच, सिनेमा का कलाकारहरू दर्शकमाझ पुगेर प्रत्यक्ष प्रतिक्रिया लिइरहेका छन्। काठमाडौंका हलहरूमा दर्शकहरूले कलाकारलाई बोकेर नचाएको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको छ। दर्शकहरूले ‘होस्टेल ३’ मनोरञ्जनले भरिएको सिनेमा रहेको प्रतिक्रिया दिएका छन्।
सिनेमा का निर्देशक सशान कँडेल हुन् भने पटकथा तथा संवाद माधव शर्मा ले लेखेका छन्। कलाकारहरूमध्ये पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायत मुख्य भूमिकामा छन्। प्रवीण खतिवडाले वार्डेनको भूमिका निभाएका छन् भने आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँ पनि सिनेमा मा देखिन्छन्।
सिनेमा का निर्माता सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुन् भने सह-निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर रहेका छन्। कार्यकारी निर्माता शङ्कर कोइराला हुन् भने लाइन प्रोड्युसर कोसिस राज क्षेत्री रहेका छन्। छायाङ्कन निर्देशन अर्जुन तिवारी ले गरेका छन् भने सम्पादन विकास दाहाल ले गरेका छन्।
‘होस्टेल ३’ ले नेपाली बक्स अफिसमा नयाँ रेकर्ड बनाउन सक्ने अनुमान गरिएको छ।