‘ज्वाइँ साब’ भारतका विभिन्न हलमा प्रदर्शन

काठमाडौँ । नेपाली चलचित्र ‘ज्वाइँ साब’ भारतका विभिन्न हलमा प्रदर्शन भइरहेको छ। नेपालमा गत दसैँमा रिलिज भएको यो चलचित्र अहिले भारतका नेपाली भाषी समुदायबीच प्रदर्शन भइरहेको छ।
निर्देशक वसन्त निरौला का अनुसार चलचित्र भारतको डेनजोङ सिनेमा (सिक्किम), द फेन्टासी सिनेमा (वेस्ट बंगाल), विराज सिनेमा (सिक्किम), एसभीएफ सिनेमा (दार्जिलिङ), सविन किङडम (सिलगुडी), ड्रिम थिएटर (कालिङपोङ) र इम्पेरियल थिएटर (न्यामची, सिक्किम) मा प्रदर्शन भइरहेको छ।
दिल्ली, सुरत, मुम्बई, अहमदाबाद, हैदराबाद, देहरादुन, मोहाली, चण्डीगढ, चेन्नई र गोवाहटीमा पनि चलचित्र प्रदर्शनको प्रयास भइरहेको उनले जानकारी दिए।
‘ज्वाइँ साब’ मा जितु नेपाल, निती शाह, बुद्धि तामाङ, रमेश बुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्त, शिवहरी वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे र इशान राउत लगायतका कलाकारले अभिनय गरेका छन्।
रेड आइ फिल्मस को ब्यानरमा निर्मित यस चलचित्रमा समिर पण्डित, सौगात पण्डित र पदमलाल तामाङ को लगानी रहेको छ। चलचित्रका कार्यकारी निर्माता विजय बस्याल हुन् भने कथा सबिन अधिकारी ले लेखेका हुन्।
चलचित्रको लेखन शंकर धिताल, छायांकन श्याम तामाङ, एक्सन संजय थापा, र संगीत अर्जुन पोखरेल र महेश ताम्राकार ले गरेका छन्।
नेपाल बाहिर पनि नेपाली भाषी दर्शकमाझ लोकप्रियता बढाउने उद्देश्यले ‘ज्वाइँ साब’ भारतका विभिन्न शहरमा प्रदर्शन गरिएको हो। भारतका थप सहरहरूमा पनि चलचित्र रिलिज गर्ने तयारी भइरहेको निर्माण पक्षले जनाएको छ।