जनकपुरमा दीपक रौनियार निर्देशित ‘राजागञ्ज’ को भव्य प्रिमियर

काठमाडौं । निर्देशक दीपक रौनियारको नयाँ फिल्म ‘राजागञ्ज’ शनिबार जनकपुरमा रेड कार्पेट प्रिमियर गरिएको छ। जनकपुरको गिरिजा हल मा आयोजित प्रिमियर समारोहमा ६ सयभन्दा बढी दर्शक उपस्थित थिए।
कार्यक्रममा जनकपुर उपमहानगरपालिका प्रमुख मनोजकुमार साह, एसपी भूवनेश्वर तिवारी, चलचित्र विकास बोर्ड मधेश प्रदेशका कार्यवाहक अध्यक्ष अशोक दत्त, मानव अधिकारकर्मी, अभियन्ता तथा फिल्मका कलाकारहरूको उपस्थिति थियो।
फिल्मकी निर्देशक दीपक रौनियार, प्रमुख अभिनेत्री आशा मगराती, कलाकारहरू आरती मण्डल, सुरज यादव, रिंकु गायत्री मिश्रा, परमेश्वर झा, मदन ठाकुर, सरोज मिश्र, घनश्याम मिश्र लगायत उपस्थित थिए।
नगरप्रमुख साह ले फिल्मको प्रशंसा गर्दै भने, “महिला इन्स्पेक्टर पूजाजस्तै आँटिलो, जोशिलो र हिम्मतिलो हुनुपर्छ। अहिलेका महिला कमजोर छैनन्।” अन्तर्राष्ट्रिय महिला दिवस को अवसर पारेर फिल्मको विशेष प्रिमियर गरिएको हो।
फिल्ममा आशा मगराती शीर्ष भूमिकामा छिन् भने निकिता चाण्डक, ऋचा शर्मा लगायतका सातजना महिला कलाकारले अभिनय गरेका छन्। दयाहाङ राई, विजय बराल, पशुपति राई, गौमाया गुरुङ, पुष्पा यादव, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, नीरज श्रेष्ठ लगायतका कलाकारहरूको समेत दमदार अभिनय रहेको छ।
भेनिस फिल्म फेस्टिभल मा समेत प्रिमियर भइसकेको ‘राजागञ्ज’ चैत १ गतेदेखि नेपालका हलहरूमा प्रदर्शनमा आउँदै छ। सभासदका छोरासहित दुई बच्चाको अपहरणपछि उनीहरूलाई मुक्त गराउन प्रहरीले चलाएको खोजी अपरेसन को कथामा फिल्म आधारित छ।
फिल्मलाई पुलिस थ्रिलर जनरामा राखिएको छ। यसको निर्माणमा आदि फिल्म्स तर्फबाट निर्देशक रौनियार र अभिनेत्री मगराती, बाँसुरी फिल्म्स तर्फबाट रामबाबु गुरुङ र मणिराम पोखरेल, अभिनेता दयाहाङ राई तथा तन्हाउसर गेट तर्फबाट एलन आर मिलिगन को सहकार्य रहेको छ।