गायिका एलिना चौहान ‘छुट्यो पिरिम’ गीतका कारण चर्चामा

काठमाडौं । गायिका एलिना चौहान नयाँ गीत ‘छुट्यो पिरिम’ का कारण फेरि एकपटक चर्चामा आएकी छिन्। टिकटक, फेसबुकलगायत सामाजिक सञ्जालमा यो गीत एलिनाको वास्तविक जीवनसँग मेल खान्छ भन्दै धेरैले टिप्पणी गरिरहेका छन्।
तर एलिना स्वयं भने यसबारे फरक धारणा राख्छिन्। उनी भन्छिन्, “गीत, संगीत र साहित्यलाई त्यसैअनुसार बुझ्नुपर्छ। गायक–गायिकाले आफैं लेखेका हरेक गीत उनीहरूको जीवनसँग मिल्नैपर्छ भन्ने हुँदैन।”
एलिनाका अनुसार ‘छुट्यो पिरिम’ गीत तीन वर्षअगाडि लेखिएको हो, जुन समयपछि मात्र उनलाई गाउन अफर गरिएको थियो।
गीतलाई व्यक्तिगत जीवनसँग तुलना नगर्न आग्रह
एलिनाले केही मिडियामा आफ्नो नाम जोडेर “एलिनाले आफ्नै जिन्दगीसँग मेल खाने गीत गाइन्” भन्ने समाचार आएको बताइन्। तर उनले यस्तो तुलना उचित नभएको बताउँदै भनिन्, “भोलि म लभ सङ गाउँला, त्यसपछि ‘एलिनाको लभ पर्यो’ भन्ने? विवाहसम्बन्धी गीत गाउँँ भने ‘एलिनाले रि-प्याचअप गरिन्’ भन्ने?”
उनका अनुसार गीतकारले आफ्नै हिसाबले गीत लेख्ने भएकाले यसलाई व्यक्तिगत जीवनसँग जोड्नु गलत हो।
एलिनाले ‘छुट्यो पिरिम’ गीतलाई महिलाको स्वतन्त्रता, आत्मनिर्भरतासँग जोडेर बुझ्न सकिने बताइन्।
उनले भनिन्, “यो गीत महिला स्वतन्त्र भएर बाँच्नुपर्छ, कसैको बन्धनमा रहनु हुँदैन भन्ने सन्देश दिन्छ। सम्बन्धमा सम्मान नहुँदा सम्बन्ध तोडिन्छ भन्ने भाव यसमा छ।”
एलिनाका अनुसार चोट, प्रेमको कदर नहुनु, आत्मसम्मानको अभाव जस्ता कुराले सम्बन्ध टुट्छ भन्ने सन्देश गीतमा रहेको छ।
एलिनाले गीतका शब्दहरूबारे पनि आफ्नो धारणा राख्दै ‘तँ’ भन्ने शब्दको साटो सम्मानजनक शब्द प्रयोग गर्न आग्रह गरेको खुलाइन्।
उनले भनिन्, “म पहिल्यै ‘मनमर्जी’ भन्ने गीतमा रेस्पेक्टेड शब्द राखेर गाएको थिएँ, तर त्यो खासै चलेन। त्यसैले यहाँ गीतकारले ‘तेरै’ शब्द राख्नुभएको होला।”
एलिनाले ‘छुट्यो पिरिम’ गीतलाई सकारात्मक रूपमा हेर्न आग्रह गरिन्।
उनले भनिन्, “फूलको आँखामा फूलै संसार भनेजस्तै, गीतलाई हेर्ने दृष्टिकोण अनुसार अर्थ निकाल्न सकिन्छ।”
उनका अनुसार, यो गीत नकारात्मक रूपमा हेर्न खोज्नेले नकारात्मक अर्थ निकाल्न सक्छन्, तर यसलाई महिला सशक्तीकरण, आत्मसम्मान र स्वतन्त्रताको सन्देश दिन्छ भन्ने हिसाबले लिनुपर्ने उनको धारणा छ।
तीन वर्षअघि लेखिएको गीत अहिले आएर चर्चा
एलिनाले आफूले यो गीत अहिले मात्रै गाएको भए पनि तीन वर्षअघि नै लेखिएको खुलाइन्।
उनले भनिन्, “केही महिनाअघि घटेका घटनासँग तीन वर्षअघि लेखिएको गीतलाई जोड्न मिल्दैन।”
‘छुट्यो पिरिम’ गीतलाई एलिनाको व्यक्तिगत जीवनसँग नजोड्न आग्रह गर्दै उनले सकारात्मक सोच राखेर गीतलाई सुन्न र बुझ्न अनुरोध गरेकी छिन्।