बेलायतमा अभिनेता टङ्क धमालाको फिल्म ‘कामा’ प्रदर्शनमा, उत्कृष्ट अभिनेताको अवार्ड जित्दै चर्चा

काठमाडौं । बेलायतमा बसोबास गर्ने अभिनेता टङ्क धमाला अभिनीत अंग्रेजी फिल्म ‘कामा’ बेलायत र आयरल्याण्डका हलहरूमा शुक्रबारदेखि प्रदर्शन भइरहेको छ। यो फिल्ममा धमालाले शीर्ष भूमिका निभाएका छन्।

फिल्म ‘कामा’ विश्वासघात र बदलाको कथा हो, जसमा धमालाले युद्धबाट फर्किएको एक सिपाहीको भूमिका निभाएका छन्। घर फर्केपछि श्रीमतीको मृत्युको खबर थाहा पाउँदा, उनले सामना गर्ने चुनौतीहरूले फिल्मलाई रोमाञ्चक बनाउने धमालाको भनाइ छ।

उनी हलिउड कलाकारहरू म्याट वेकफोर्डनट, जेमिमा टोम्स, मिया बेनेट तथा साउथ इन्डियन अभिनेत्री पूजा गुप्तासँग स्क्रिन सेयर गरिरहेका छन्।

धमालाले आफ्नो भूमिकालाई प्रभावकारी बनाउन शारीरिक फिटनेस, आर्मीको सोच्ने तरिका, शारीरिक हाउभाउ तथा मानसिकता बुझ्न विशेष प्रशिक्षण लिएको बताए। बेलायती अभिनय प्रशिक्षक साइमन गिब्बन सँग प्रशिक्षण लिँदै उनले आफ्नो पात्रलाई मजबुत बनाएका थिए।

फिल्म ‘कामा’ इटलीमा सम्पन्न मिलान इन्टरनेसनल फिल्म फेस्टिभल मा स्क्रिन गरिएको थियो, जहाँ धमालाले उत्कृष्ट अभिनेताको अवार्ड जिते। समीक्षकहरूले उनको अभिनयको उच्च प्रशंसा गरेका थिए।

यसैगरी, फिल्म ‘म्याड्रिड इन्टरनेसनल फिल्म फेस्टिभल २०२४’ मा समेत सर्वश्रेष्ठ अभिनेता सहित विभिन्न अवार्ड जित्दै धमालाले आफ्नो उपस्थिति बलियो बनाएका छन्।

बेलायत र आयरल्याण्डका हलहरूमा प्रदर्शन भइरहेको ‘कामा’ ले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। एक्शन–थ्रिलर जनरामा बनेको यो फिल्मले धमालालाई बेलायती सिनेमामा समेत स्थापित गर्दै लगेको देखिन्छ।

धमाला नेपाली फिल्मका दर्शकमाझ ‘सरौतो’ बाट परिचित छन्। ‘सरौतो’पछि उनलाई नेपाली फिल्मका प्रस्ताव आए पनि ‘कामा’ को तयारीले गर्दा संलग्न हुन सकेनन्।

तर अब उनले नेपाली फिल्ममा फर्किने संकेत गर्दै भने, “नेपाली फिल्ममा सुहाउँदो भूमिका पाएमा म प्रस्तुत हुन तयार छु। संख्यात्मकभन्दा पनि गुणात्मक फिल्ममा देखिन चाहन्छु।”

धमालाले बेलायती मोडल तथा अभिनेता एजेन्सी लङफोर्ड एसोसियट मा आबद्ध भएर काम गरिरहेका छन्। उनले केही नयाँ प्रोजेक्ट मा समेत काम गर्ने तयारी गरिरहेका छन्।

‘डेन्जरस गेम’, भारतीय फिल्म ‘एनिमल’, नेपाली फिल्म ‘सरौतो’ मा अभिनय गरिसकेका धमाला बेलायतमै आफ्नो करियर अघि बढाउँदै छन्। अब उनी नेपाली फिल्ममा पनि दर्शकलाई नयाँ अवतारमा प्रस्तुत हुने तयारीमा छन्।

About The Author

Leave a Reply

Your email address will not be published.