पर्थमा नेपथ्यको कन्सर्ट भव्य सम्पन्न, प्रेम कहानीदेखि संगीतमय उत्साहसम्म

विराटनगर / चर्चित नेपाली ब्यान्ड नेपथ्यले अस्ट्रेलिया संगीत यात्रा २०२५ अन्तर्गत आफ्नो दोस्रो कन्सर्ट पर्थमा भव्य रूपमा सम्पन्न गरेको छ। स्थानीय मेट्रो सिटी हलमा आयोजित कार्यक्रममा नेपाली समुदायका सयौं दर्शक उपस्थित थिए, जसमा युवा जोडीदेखि परिवारसम्मको सहभागिता रह्यो।

कन्सर्टको माहोल भावनात्मक पनि बन्यो, जब दर्शकमध्येका सौगात पौडेलले श्रीमती ममतासँग नाच्दै ‘अमृत दाइ धन्यवाद!’ भनेर चिच्याए। सौगातले नेपथ्यकै कारण आफू र ममताबीच ११ वर्षअघि बेंगलुरूमा पहिलो भेट भएको सम्झिँदै कन्सर्टपछि भने, “यो ब्यान्डले हाम्रो जीवन बदलिदियो।”

संगीत संध्याको प्रारम्भ ‘कोशीको पानी’ बाट भयो। गायक तथा अगुवा अमृत गुरुङले गीतहरू प्रस्तुत गर्दै नेपाली संस्कृतिको महत्वबारे दर्शकसँग संवाद पनि गरे।

“फागु पर्व नजिकिँदै गर्दा हिमाल, पहाड र तराईको न्यानो शुभकामना लिएर यहाँ आएको छु,” उनले दर्शकमाझ भने।

‘जोमसोमे बजार’, ‘शिरफूल’, ‘गाउँ गाउँबाट उठ’ जस्ता गीतहरूले दर्शकलाई झनै रोमाञ्चित बनायो। ‘नैनाताल’ प्रस्तुत गर्नु अघि अमृतले नेपाली समाजमा ससानो परिवारको प्रभावबारे रमाइलो टिप्पणी गर्दै भने, “साइँला भन्ने शब्दै लोप हुँदैछ।”

नेपाली दर्शकमात्र होइन, स्कटिश मूलकी अस्ट्रेलियन लुइस जोर्गेन्सन पनि कार्यक्रममा देखिइन्। “मैले नेपाललाई माया गर्छु, स्पोटिफाईमा सुन्ने प्रायः नेपाली गीत नै हुन्छन्,” उनले भनिन्। उनलाई नेपथ्यको ‘तालको पानी’ विशेष मन पर्ने रहेछ।

पर्थपछि नेपथ्य अस्ट्रेलियाका विभिन्न सहरतर्फ अघि बढ्दैछ। मार्च १४ मा ब्रिसबेन, १८ मा होबार्ट, २१ मा एडिलेड, २४ मा मेलबर्न हुँदै २९ मार्चमा सिड्नीमा अन्तिम कन्सर्ट हुनेछ। त्यसपछि ब्यान्ड नेपाल फर्किनेछ।

नेपथ्यको यो सफल कन्सर्टले नेपाली संगीतको अन्तर्राष्ट्रिय प्रभाव झनै मजबुत बनाएको छ।

About The Author

Leave a Reply

Your email address will not be published.