‘होस्टेल-३’ ले उत्साहजनक व्यापार गर्‍यो

काठमाडौं / शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘होस्टेल-३’ ले बक्स अफिसमा उत्साहजनक व्यापार गरेको छ। वितरक र निर्देशकका अनुसार फिल्मले पहिलो दिनदेखि नै राम्रो कमाइ गरिरहेको छ।

विशेषगरी शनिबार फिल्मका अधिकांश शो हाउसफुल भएका थिए। काठमाडौं उपत्यकामा फिल्म वितरण गरिरहेको काफिया फिल्म्सका गोविन्द शाहीका अनुसार बिदा बाहेकका दिनहरूमा पनि फिल्मको व्यापार राम्रो छ।

‘माहोल एकदमै राम्रो छ। बिहानको शोमा ४० प्रतिशतभन्दा माथि अकुपेन्सी थियो भने दिउँसो २ बजेपछि ८० प्रतिशतसम्म भरिएको छ,’ उनले भने।

शाहीका अनुसार ‘होस्टेल-३’ को लोकप्रियताको पछाडि ब्रान्डकै प्रभाव मात्र नभई नयाँ कलाकारको प्रदर्शन पनि मुख्य कारण बनेको छ। उनले दर्शकले नयाँ कलाकारलाई रुचाएको र सामाजिक सञ्जालमा उनीहरूबारे भएको चर्चा परिचर्चाले पनि व्यापारमा सकारात्मक प्रभाव पारेको बताए।

काठमाडौं बाहिर फिल्म वितरण गरिरहेको आरआर फिल्म्स का रोहित कट्टेलका अनुसार मोफसलमा पनि ‘होस्टेल-३’ ले अपेक्षाभन्दा राम्रो व्यापार गरिरहेको छ। ‘धेरै समयपछि हलहरूमा चहलपहल देखिएको छ। बुकिङभन्दा डोरसेल राम्रो भइरहेको छ,’ उनले भने।

फिल्मका निर्देशक सशान कँडेल ले दर्शकको राम्रो प्रतिक्रिया पाएकोमा खुशी व्यक्त गरे। ‘निर्देशकको रूपमा पहिलो फिल्ममै अपेक्षाभन्दा बढी माया पाएँ, खुसी छु,’ उनले भने।

उनका अनुसार ‘होस्टेल-३’ ले प्रदर्शनको दुई दिनमै १ करोड ७० लाख रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गरेको छ। आइतबारको कलेक्सनको विवरण आउन बाँकी भए पनि फिल्मले लगानी सुरक्षित गरिसकेको उनले बताए।

‘विदेश राइटस्, डिजिटल राइटस्, हिजोसम्मको बक्स अफिस कलेक्सनको आधारमा लगानी सुरक्षित भइसकेको छ। अबको व्यापार फाइदा हो,’ निर्देशक कँडेलले दाबी गरे।

‘होस्टेल-३’ होस्टेलमा बस्ने किशोर-किशोरीहरूको कथामा आधारित छ। फिल्ममा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, रिहान गिरी, समा पराजुली, हेना नगरकोटी लगायतको अभिनय रहेको छ।

About The Author

Leave a Reply

Your email address will not be published.