रंगमञ्चबाट चलचित्रमा गएकालाई रंगमञ्चमै फर्किन दिया मास्केको आग्रह

काठमाडौं / टीकापुर साहित्य महोत्सवको दोस्रो संस्करणमा रंगकर्मी दिया मास्केले चलचित्रमा गएका कलाकारलाई रंगमञ्चमै फर्किन आग्रह गरेकी छन्।

“रंगमञ्च नै तपाईंहरूको वास्तविक जग हो। यहाँ फर्किनुस्, तपाईंको लोकप्रियताले नाटकलाई पनि फाइदा पुग्छ,” उनले भनिन्।

उनले अहिलेको युवापुस्ताको नाटकप्रति आकर्षण बढेको बताउँदै धेरै कलाकारले सिनेमामा ख्याती पाएपछि विद्यार्थीहरू नाटकमा आउने गरेको उल्लेख गरिन्।

अर्का वरिष्ठ रंगकर्मी सुनिल पोखरेलले नेपाली रंगमञ्चले दिशा त बनाएको तर अझै पूर्ण व्यवसायिकता हासिल गर्न नसकेको बताए। “रंगमञ्चलाई कसरी व्यवसायिक बनाउने भन्नेबारे स्पष्ट रणनीति छैन,” उनले भने।

उनले रंगमञ्चप्रतिको आफ्नो लगावबारे चर्चा गर्दै भने, “नेपाली रंगमञ्च रोज्नुको कारण अरु केही नजानेर पनि हो, तर सम्भवत: यो मेरो प्यासन हो। नाटक गर्दा आनन्द आउँछ।”

नाटकले समाजलाई रूपान्तरण गर्ने शक्ति राख्ने बताउँदै मास्केले व्यवसायिकता भनेको पैसा मात्र नभएर गुणस्तरीय काम पनि रहेको बताइन्। “थिएटर पैसा कमाउने माध्यम होइन। व्यावसायिकता भनेको हामीले कति उत्कृष्ट काम गर्छौं भन्ने हो,” उनले जोड दिइन्।

पोखरेलले नाटकले मानिसलाई फराकिलो सोच्न, सहिष्णु बन्न र असहमतिहरूलाई झेल्ने शक्ति प्रदान गर्ने बताए। “अहिले सहरहरूमा थुप्रै नाटकघर खुलेका छन्, जुन उत्साहजनक संकेत हो। यसको सुरुवात गुरुकुलबाटै भएको थियो,” उनले भने।

रंगमञ्चका दुई फरक पुस्ताका यी दुई कलाकारले नेपाली नाटकको अवस्था, चुनौती र सम्भावनाबारे विस्तृत छलफल गरेका थिए।

About The Author

Leave a Reply

Your email address will not be published.