फिल्म ‘एञ्जिला’ को भव्य प्रिमियर, महिला फुटबल खेलाडीहरूलाई सम्मान

काठमाडौं / होलीदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘एञ्जिला’ को भव्य प्रिमियर सोमबार ललितपुरको लाबिम मल मा सम्पन्न भएको छ।
प्रिमियरमा महिला फुटबल राष्ट्रिय टिमका खेलाडीहरू सहित चलचित्र क्षेत्रका चर्चित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। महिला फुटबल खेलाडीहरू प्रीति राई, सविता राना मगर, गीता राना, अनिता बस्नेत, निशा ठोकर, हिरा भुजेल, सरु लिम्बु, कुसुम खतिवडा, अनु लामा लगायत उपस्थित थिए। त्यस्तै, एपिएफ चिफ राजु अर्याल विशेष अतिथिको रूपमा कार्यक्रममा सहभागी भए।
प्रिमियरअघि उपस्थित महिला फुटबल खेलाडीहरूलाई खँदालगाएर सम्मान गरियो। फिल्म ‘एञ्जिला तुम्बापो सुब्बा’ को जीवनीमा आधारित भएकाले खेलाडीहरूको उपस्थितिले कार्यक्रमलाई विशेष बनायो।
यसअघि फिल्मको हङकङ, कोरिया, बेलायत र धरानमा सफल प्रिमियर भइसकेको छ।
कार्यक्रममा निर्माता तथा कलाकार प्रेमकुमार श्रेष्ठ, अभिनेता दयाहाङ राई, सह-निर्माता विनोद अग्रवाल, राजेश बगडिया र निर्देशक मिलन चाम्स को उपस्थिति थियो।
तर, चलचित्रकी मुख्य अभिनेत्री एञ्जिला तुम्बापो सुब्बा र अन्य प्रमुख कलाकारहरू कार्य व्यस्तताका कारण समारोहमा उपस्थित हुन सकेनन्।
चलचित्रमा एञ्जिलासँगै प्रेमकुमार श्रेष्ठ, दयाहाङ राई, सुनिल थापा, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ को मुख्य अभिनय छ।यो निर्देशक मिलन चाम्स को तेस्रो बायोपिक हो। यसअघि उनले ‘ब्लाइन्ड रक्स’ र ‘बोबी’ निर्देशन गरिसकेका छन्।
फिल्मको छायांकन एञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौंमा गरिएको हो। सुदीप बराल ले छायांकन गरेका छन् भने सम्पादन मिलन श्रेष्ठ ले गरेका छन्।
मुन लभ इन्टरटेन्मेन्ट को ब्यानरमा निर्माण भएको यो फिल्मका निर्माता प्रेमकुमार श्रेष्ठ हुन्।
फिल्म होलीबाट देशभर प्रदर्शनमा आउँदैछ।