सिनेमा ‘कर्मा’मा उपासना सिंह ठकुरीको लुक्स सार्वजनिक

काठमाडौं / आगामी चैत २९ गते रिलिज हुने एक्सन ड्रामा सिनेमा ‘कर्मा’ मा अभिनेत्री उपासना सिंह ठकुरीको लुक्स सार्वजनिक गरिएको छ। विपीन कार्कीको अपोजिटमा देखिन लागेकी उपासना पारम्परिक लुक्समा प्रस्तुत हुने भएकी छन्। सार्वजनिक लुक्समा उनी कुर्था सुरुवालमा देखिएकी छन्, जसले उनको भूमिका गाउँबाट सहर आएकी युवती भएको संकेत गर्छ।
निर्देशक सौरभ चौधरीको निर्देशनमा बनेको ‘कर्मा’ एक्सन जनरामा आधारित छ, जसमा विपीन कार्कीको पहिलो एक्सन भूमिकासमेत रहेको छ। सिनेमामा विपीन र उपासना बाहेक मुकुन भुसाल, दिव्यदेवलगायत कलाकारको अभिनय रहेको छ। मुकुन भुसाल नेगेटिभ भूमिकामा देखिनेछन्।
नेपालका विभिन्न स्थान, विशेष गरी दाङ र काठमाडौंमा छायांकन गरिएको सिनेमाले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकारसमेत बिक्री गरिसकेको छ। सेभेन सिज सिनेमाले सिनेमाको ओभरसिज वितरणको जिम्मा लिएको छ।
‘कर्मा’ को निर्माण आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुति हो भने सिनेमामा वसन्त लम्सालको लगानी रहेको छ। निर्देशक चौधरीको अघिल्लो सिनेमा ‘अगस्त्यः च्याप्टर १’ ले राम्रो प्रतिक्रिया पाएको थियो, जसले ‘कर्मा’ प्रति पनि दर्शकमाझ उच्च अपेक्षा बढाएको छ।