जेठ १५ गते रिलिज हुने ‘महाभोज’, पहिलो पोस्टर सार्वजनिक

काठमाडौं / नेपाली सिनेमा ‘महाभोज’ आगामी जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर प्रदर्शनमा आउने भएको छ। मंगलबार पहिलो पोस्टर सार्वजनिक गर्दै निर्माताले सिनेमाको रिलिज मिति तय गरेका हुन्। नेपालसहित नेपालीहरू बसोबास गर्ने विभिन्न देशहरूमा सिनेमालाई एकसाथ रिलिज गरिने जनाइएको छ।

पोस्टर डिजाइनर रोयल भीमसेनले तयार पारेको पहिलो पोस्टरमा प्रमुख कलाकारहरू गम्भीर र चुनौतीपूर्ण हाउभाउमा प्रस्तुत भएका छन्। पोस्टरको पृष्ठभूमिमा नेपाली मुद्रा झल्किने डिजाइन गरिएको छ, जसले आर्थिक असमानता र सत्ताको प्रभाव संकेत गर्छ। पोस्टरको केन्द्रमा अभिनेता आर्यन सिग्देल छन्, जसले राजनीतिक वा प्रशासनिक व्यक्तित्वको भूमिका निर्वाह गरेको अनुमान गर्न सकिन्छ। उनका साथमा दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ र मलिका महत देखिन्छन्, जसको अनुहारमा आक्रोश, पीडा, अन्याय र संघर्षका भाव झल्किएका छन्।

सामाजिक तथा यथार्थपरक विषयमाथि निर्माण भएको ‘महाभोज’ सिनेमालाई निर्देशक दिनेश राउतले निर्देशन गरेका छन्। यो उनको आठौँ निर्देशकीय प्रस्तुति हो। सिनेमामा आर्यन, दयाहाङ, खगेन्द्र, अञ्जना, गौमाया, मलिका सहित वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाह लगायतका कलाकारको अभिनय रहेको छ।

‘महाभोज’ क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त निर्माणमा तयार भएको हो। सिनेमाका निर्माता हिमाल कडरिया हुन् भने कथा तथा स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन्। सिनेमाको छायांकन राजेश श्रेष्ठले गरेका छन् भने सम्पादन निमेष श्रेष्ठको रहेको छ। ध्वनि डिजाइन उत्तम न्यौपानेले गरेका छन् भने मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत रहेका छन्।

सिनेमाको निर्माण व्यवस्थापनमा मनोज जोशी र विदुर मानन्धर छन्। साजन बस्ताकोटीको कला निर्देशन, रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टको पब्लिसिटी डिजाइन, समरा जोशीको मेकअप, सरस्वती श्रेष्ठको केश स्टाइलिङ तथा आशिष पौडेलको कस्ट्युम डिजाइन रहेको छ। नेपालमा सिनेमाको वितरण काफिया फिल्म्स र कुबेर सिने डिस्ट्रिब्युसनले गर्नेछन्।

About The Author

Leave a Reply

Your email address will not be published.