‘मितज्यू’ मा दयाहाङ र तेरिया, चैत २७ गते प्रदर्शन हुने

काठमाडौं / अनिल बुढा मगरको निर्देशनमा बन्ने नेपाली सिनेमा ‘मितज्यू’ मा अभिनेता दयाहाङ राई र अभिनेत्री तेरिया फौजा मगर अनुबन्धित भएका छन्। भारतीय रियालिटी शो ‘डान्स इण्डिया डान्स लिल मास्टर्स’ (सिजन ३) र ‘झलक दिखलाजा’ (सिजन ९) की विजेता तेरियाले नेपाली रजतपटमा डेब्यु गर्दैछिन्।
यसअघि तेरियाले भारतीय वेब सिरिज ‘उनकी यारी’ (२०२२) र ‘क्याम्पस बिट्स’ (२०२३) मा अभिनय गरिसकेकी छन्। उनको आगमनसँगै ‘मितज्यू’ प्रति दर्शकमाझ उत्सुकता बढेको छ। नेपाली दर्शकहरू तेरियालाई सिनेमामा अभिनय गरेको हेर्न चाहने टिप्पणीहरू सामाजिक सञ्जालमा देखिन्छन्।
जनक घर्ती मगरको लगानीमा निर्माण हुन लागेको सिनेमामा दयाहाङ र तेरियाले दोस्रो पटक सहकार्य गर्न लागेका हुन्। यसअघि उनीहरूले यसै वर्ष प्रदर्शन भएको सुपरहिट सिनेमा ‘घरज्वाइँ’ मा सँगै काम गरेका थिए। गत असार २८ गते प्रदर्शनमा आएको ‘घरज्वाइँ’ ले ५१ दिन पूरा गर्नुका साथै दर्शक र समीक्षकबाट उत्कृष्ट प्रतिक्रिया पाएको थियो।
‘मितज्यू’ जीएम मूभिज प्रोडक्सन र एबीएम सिने प्रोडक्सन को ब्यानरमा निर्माण हुनेछ। सिनेमामा दयाहाङ र तेरिया बाहेक अन्य कलाकारको टुंगो लागिसकेको छैन। महेश राईको लेखन रहेको सिनेमाका प्रोडक्सन कन्ट्रोलर धन बहादुर राई छन्।
सिनेमाको छायांकन अर्को वर्षदेखि सुरु हुनेछ भने निर्माण टिमले आगामी चैत २७ गतेलाई प्रदर्शन मिति तय गरिसकेको छ।