सिड्नीमा नेपथ्यको कन्सर्टका लागि थप शो घोषणा

सिड्नी / अस्ट्रेलियामा सांगीतिक टूरमा रहेको लोकप्रिय नेपाली ब्याण्ड नेपथ्य ले सिड्नीमा दोस्रो शो थप गरेको छ। कन्सर्टका लागि तोकिएको मितिभन्दा तीन साताअगावै साढे ५ हजार टिकट बिक्री भइसकेपछि ब्याण्डले थप शो घोषणा गर्नुपरेको हो।
नेपथ्यले यसअघि चैत १६ (मार्च २९) मा सिड्नीको होर्डन पभिलियन मा कन्सर्ट गर्ने घोषणा गरेको थियो। अब टिकटको उच्च मागलाई ध्यानमा राख्दै ब्याण्डले अर्को दिन चैत १७ (मार्च ३०) मा पनि सोही हलमा प्रस्तुति दिनेछ।
नेपथ्यले आफ्नो सांगीतिक यात्रा अस्ट्रेलियाको राजधानी क्यानबेराबाट सुरु गरेको थियो। महिना दिन लामो टूरअन्तर्गत ब्याण्डले पर्थमा दोस्रो कन्सर्ट गरिसकेको छ। यी दुवै सहरमा सफल कन्सर्टपछि सिड्नीमा नेपथ्यको प्रस्तुति हेर्न दर्शकहरू निकै उत्साहित देखिएका छन्।
स्थानीय आयोजक टीआरएन इभेन्ट्स र नेपथ्यलाई व्यवस्थापन गर्दै आएको संस्था नेपालय ले दर्शकको मागलाई मध्यनजर गर्दै सिड्नीमा दोस्रो शो थप गर्ने निर्णय गरेको जनाएको छ।