सेन्सरको विवादपछि ‘राजागंज’ प्रिमियर, फिल्मले प्रशंसा बटुल्यो

काठमाडौं / सेन्सर बोर्डमा विवाद झेलेर अन्ततः केही दृश्य र संवाद काटिएपछि पास भएको फिल्म ‘राजागंज’ बुधबार काठमाडौंको बिग मुभिजमा प्रिमियर गरिएको छ। पूर्वप्रधानमन्त्री, राजनीतिज्ञ, फिल्मकर्मी तथा कलाकारहरूको उपस्थिति रहेको प्रिमियरमा फिल्मले सकारात्मक प्रतिक्रिया बटुल्यो।


पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई श्रीमती हिसिला यामीसँगै प्रिमियरमा उपस्थित भए। उनले फिल्मको महत्त्वपूर्ण दृश्य सेन्सर बोर्डले हटाएकोमा आपत्ति जनाउँदै भने, “मधेश आन्दोलनको फिल्म हुनाले र म प्रत्यक्ष साक्षी भएकाले यो निकै वस्तुवादी र तथ्यपरक छ। तर, फिल्मको मुख्य अंश काटिएको सुन्दा दुःख लाग्यो। यदि त्यो अंश हटाइएको हो भने, त्यो फिल्मको टाउको काटिएजस्तै हो।”


अभिनेत्री केकी अधिकारी ले फरक कथावाचन शैलीमा बनेको फिल्म हेर्न पाउँदा खुसी लागेको बताइन्। उनले भनिन्, “मधेशका महिलाहरूको नउठेको कथा यसमा आएको छ। दीपक (रौनियार) दाईको कथावाचन शैली म पहिलेदेखि नै ठूलो फ्यान हुँ। यस फिल्ममा पनि उहाँले कथालाई प्रभावशाली रूपमा प्रस्तुत गर्नुभएको छ।”

अर्की अभिनेत्री लुनिभा तुलाधर ले ‘राजागंज’ महिला पनि फिल्मको हिरो हुन सक्छन् भन्ने उदाहरण बनेको बताइन्। “फिल्ममा हिरो पुरुष मात्र होइन, महिला पनि हुन सक्छन्। रुपरंग र उमेरले केही फरक पार्दैन भन्ने उदाहरण ‘राजागंज’ ले देखाएको छ।”


प्रिमियरमा संघीय सांसद अमरेश कुमार सिंह, अभिनेत्रीहरू शिल्पा मास्के, रीमा विश्वकर्मा, उषा रजक, अभिनेता नाजिर हुसेन, निर्देशक अशोक शर्मा लगायतले फिल्मको प्रशंसा गरे। फिल्मतर्फबाट निर्देशक दीपक रौनियार, अभिनेत्रीहरू आशा मगराती, ऋचा शर्मा, अभिनेता दयाहाङ राई समेत उपस्थित थिए।


शुक्रबारबाट देशभर प्रदर्शनको तयारीमा रहेको ‘राजागंज’ मधेश आन्दोलनको पृष्ठभूमिमा बनेको छ। फिल्मले अपहरणमा परेका दुई बालकलाई मुक्त गराउन प्रहरीले चलाएको खोजी अपरेसनको कथा भन्छ। फिल्ममा पशुपति राई, विजय बराल, गौमाया गुरुङ, निकिता चाण्डक, पुष्पा यादव, आरती मण्डल लगायतको अभिनय छ।

फिल्मका कार्यकारी निर्माता भारतीय चर्चित निर्देशक अनुराग कश्यप हुन्।

About The Author

Leave a Reply

Your email address will not be published.