‘होस्टेल ३’ ले छ दिनमै २ करोड २० लाख ग्रस कमायो

काठमाडौं / नेपाली फिल्म क्षेत्रको हिट फ्रेन्चाइज ‘होस्टेल’ को तेस्रो श्रृंखला ‘होस्टेल ३’ ले बक्स अफिसमा शानदार यात्रा तय गरिरहेको छ। कमजोर ओपनिङका बाबजुद, दोस्रो दिनदेखि नै राम्रो व्यापार गर्न थालेको फिल्मले ६ दिनमा २ करोड २० लाख ग्रस कमाएको छ। चलचित्र विकास बोर्डको तथ्यांकअनुसार, यो कमाइबाट निर्माताले करिब एक करोड रुपैयाँ प्राप्त गर्नेछन्।
‘होस्टेल ३’ ले पछिल्लो कात्तिकपछि २ करोड क्लब पार गर्ने दोस्रो नेपाली फिल्म बनेको छ। यसअघि ‘लाज शरणम्’ ले सोही उपलब्धि हासिल गरेको थियो। फिल्मप्रति विशेषगरी जेन-जी पुस्ताको आकर्षण उच्च देखिएको छ, जसले गर्दा ‘होस्टेल ३’ ले ३ करोडको आँकडा सहजै पार गर्ने अनुमान गरिएको छ। साँझपख फिल्मका शोहरूमा दर्शकको उल्लेखनीय चाप देखिएको छ, भने बिहीबार परेको होली पर्वमा समेत देशभर हलहरूमा उत्साहजनक अकुपेन्सी देखिएको छ।
‘होस्टेल ३’ शुक्रबारदेखि दोस्रो सातामा प्रवेश गर्दैछ। नेपाली बक्स अफिसमा राम्रो प्रदर्शन गरिरहेको यो फिल्म बिहीबारदेखि संयुक्त अरब इमिरेट्स, कतार, र बहराइनका हलहरूमा पनि प्रदर्शनमा आएको छ। फिल्मको प्रचारका लागि कलाकार पदम तामाङ कतार पुगेका छन्। मध्यपूर्वका वितरक आशिष पुरुषका अनुसार, त्यहाँ फिल्मको उच्च माग रहेको छ र व्यापार आक्रामक हुने विश्वास गरिएको छ।
सशान कँडेलको कथा तथा निर्देशनमा तयार भएको ‘होस्टेल ३’ मा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, रिहान गिरी, हेना नगरकोटी, समा पराजुली, उमर खान, सन्तोष बानियाँ लगायत कलाकारको अभिनय रहेको छ। होस्टेलमा बसेर अध्ययन गर्ने विद्यार्थीहरूको रमाइलो जीवन र संघर्षको कथामा आधारित यो फिल्ममा अर्जुन तिवारीको छायांकन तथा विकास दाहालको सम्पादन रहेको छ।