सिनेमा ‘परालको आगो’ मा प्रकाश सपुत अनुबन्धित

काठमाडौं / कथाकार गुरुप्रसाद मैनाली को चर्चित कृति ‘परालको आगो’ मा आधारित भएर निर्माण हुन लागेको सोही नामको सिनेमामा गायक तथा अभिनेता प्रकाश सपुत अनुबन्धित भएका छन्। हरिओम सिने मेकर्स का तर्फबाट निर्माता सुशील पोखरेल ले उनलाई सिनेमामा अनुबन्ध गरेका हुन्।
मैनाली कथा पुरस्कार ट्रस्टले हरिओम सिने मेकर्स लाई सिनेमा निर्माणको अनुमति दिइसकेको छ। ‘परालको आगो’ कथाकार मैनालीको चर्चित कथा संग्रह ‘नासो’ मा संग्रहित कथा हो।
निर्माता पोखरेलका अनुसार, प्रकाश सिनेमाका प्रमुख दुई पात्रमध्ये एक हुन्। यसअघि, सिनेमामा प्रमुख कलाकारका रूपमा जितु नेपाल र सुहाना थापा अनुबन्धित भइसकेका छन्। सिनेमाको कथा चामे, गौँथली, र जुठे दमाई वरिपरि घुम्नेछ। जितु र प्रकाशमध्ये कुन पात्रले चामे र कुनले जुठे दमाईको भूमिका निर्वाह गर्ने भन्ने अहिले सस्पेन्समै राखिएको छ।
सिनेमामा सुशील देवकोटा को लेखन, संकल्प भुजेल को छायांकन, रामजी लामिछाने को कोरियोग्राफी, तथा सत्य–स्वरुपराज आचार्य को संगीत रहनेछ। सिनेमाका निर्माण नियन्त्रण नगेन्द्र घिमिरे हुन्।
निर्माता पोखरेलका अनुसार, सिनेमाको प्रदर्शन २०८२ सालमा गर्ने लक्ष्य राखिएको छ। यही नाममा ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले पनि सिनेमा निर्माण गरेका थिए। तर, यसपटक लोकेसन, प्रस्तुतिकरण र पटकथालाई नयाँ शैलीमा प्रस्तुत गरिने बताइएको छ।
सिनेमाको निर्देशन लक्ष्मण सुनार ले गर्नेछन्। ‘परालको आगो’ कथा चामे र गौँथलीबीचको झगडाको वरिपरि घुम्नेछ।
निर्माता पोखरेल यसअघि ‘मैदान’, ‘जीवनदाता’, ‘निगरानी’, ‘जय शिव शंकर’, ‘लभ सभ’, ‘राधे’, र ‘यात्रा’ जस्ता सिनेमाहरू निर्माण गरिसकेका छन्।