फागु पूर्णिमामा सार्वजनिक ‘अञ्जिला’ सिनेमाले दर्शकको मन जित्यो

काठमाडौं / नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनकथामा आधारित सिनेमा ‘अञ्जिला’ फागु पूर्णिमाको अवसर पारेर सार्वजनिक प्रदर्शनमा आएको छ। सिनेमामा एन्जिलाले आफैं मुख्य भूमिका निर्वाह गरेकी छन्, जसमा उनको बाल्यकालदेखि फुटबल यात्रासम्मको संघर्ष र सफलताको कथा प्रस्तुत गरिएको छ।
सोमवार काठमाडौंमा आयोजित प्रिमियर शोमा सिनेमाले व्यापक सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ। दर्शकहरूले एन्जिलाको प्रेरणादायी कथाले मन छोएको बताएका छन्। सिनेमाको देशभरका हलहरूमा उत्साहजनक शो पाएको छ, जसका प्रारम्भिक शोहरूमा नै दर्शकको उल्लेखनीय उपस्थिति देखिएको वितरक करण श्रेष्ठ ले बताए।
सामान्यतया, फागु पूर्णिमाको दिन मध्य दिनसम्म हलहरूमा दर्शक कम देखिन्छन्। तर, ‘अञ्जिला’ मा भने सुरुवाती शोहरूमै उल्लेखनीय दर्शक उपस्थिति देखिएको छ। सिनेमाले फुटबलप्रेमी तथा खेलकुदमा रुचि राख्ने दर्शकहरूको विशेष ध्यान तानेको छ।
सिनेमामा एन्जिला तुम्बापो सुब्बा को मुख्य भूमिकाका साथमा सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ।
सिनेमाको छायांकन एन्जिलाको जन्मथलो इलामको आइतबारे, झापा, र काठमाडौंमा गरिएको हो।
निर्देशक चाम्स ले नेपाली स्रोत-साधनको अधिकतम उपयोग गर्दै खेलकुदमा आधारित सिनेमा निर्माण गर्नु चुनौतीपूर्ण भए पनि ‘अञ्जिला’ ले फरक प्रभाव पार्ने विश्वास व्यक्त गरे।
निर्माता प्रेमकुमार श्रेष्ठ ले भने, “खेलकुदमा लाग्न चाहनेहरूका लागि यो सिनेमा प्रेरणादायी बन्नेछ। एन्जिलाको संघर्षको कथा सिनेमाको पटकथाभन्दा कम छैन।”