नेपाली सिनेमामा ‘अञ्जिला’को प्रभाव: दर्शकमाझ उत्साहजनक प्रतिक्रिया

काठमाडौं /फागु पूर्णिमाको अवसर पारेर गत बिहीबार प्रदर्शनमा आएको नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित सिनेमा ‘अञ्जिला’ दर्शकमाझ निकै लोकप्रिय बन्दै गएको छ। सिनेमाले सुरुवातदेखि नै उल्लेखनीय दर्शक उपस्थिति पाइरहेको छ, जसले यसको सफलता सुनिश्चित गरेको छ।
वितरक करण श्रेष्ठका अनुसार, सिनेमाले पहिलो दिन १०५ शोबाट प्रदर्शन सुरू गरेको थियो। दर्शकको बढ्दो मागका कारण शुक्रबार ११४, शनिबार १३४ तथा मंगलबारसम्म आइपुग्दा १७० भन्दा बढी शो प्रदर्शन भइसकेका छन्। निर्देशक मिलन चाम्सले दर्शकको सकारात्मक प्रतिक्रियाका कारण सिनेमा प्रदर्शनको संख्या दिनहुँ बढिरहेको बताएका छन्।
सिनेमाले कठिन पारिवारिक परिस्थितिबाट व्यावसायिक फुटबल खेलाडी बन्ने सपना देखेर राजधानी आउने एन्जिला तुम्बापो सुब्बाको प्रेरणादायी संघर्षलाई पर्दामा उतारेको छ। सिनेमाले उनको फुटबल यात्रा मात्र नभई, संघर्ष, आत्मबल र सपनाको मूल्यलाई पनि दर्शाएका कारण दर्शक भावुक बन्न पुगेका छन्।
सिनेमाको अन्त्यतिर धेरै दर्शक भावुक बनेको दृश्यहरू हलहरूमा देखिएको छ। सिनेमाको सशक्त कथा र जीवन्त अभिनयका कारण यसले दर्शकहरूको मन जित्न सफल भएको छ।
‘अञ्जिला’मा शीर्ष भूमिकामा स्वयं एन्जिला तुम्बापो सुब्बाले अभिनय गरेकी छिन्। साथै, सिनेमामा माओत्से गुरुङ र दयाहाङ राईले एन्जिलाका बुबाको भूमिका निभाएका छन् भने सिर्जना सुब्बाले आमाको भूमिका निर्वाह गरेकी छन्। सुमिन गुरुङले दाजुको भूमिका निभाएका छन् भने सुनिल थापाले कोचको भूमिका खेलेका छन्। साथै, बुद्धि तामाङ, विजय बराल, मञ्जु श्रेष्ठ लगायतका कलाकारहरूको अभिनय रहेको छ।
यसैबीच, सिनेमा को गीत ‘रात किन हुन्छ हजुर’ दर्शकमाझ अत्यधिक चर्चित बनेको छ। यो गीतमा थानेश्वर गौतम र शान्ति श्री परियारको स्वर रहेको छ भने प्रभा बर्तौलाको शब्द तथा थानेश्वर गौतमकै सङ्गीत छ।
निर्माताहरूका अनुसार, सिनेमाले पहिलो तीन दिनमै २ करोड ७ लाख रुपैयाँको व्यापार गरेको छ, जुन नेपाली सिनेमाका लागि सकारात्मक संकेत हो। दर्शकको बढ्दो चासो र सकारात्मक प्रतिक्रिया हेर्दा सिनेमाले अझ राम्रो व्यावसायिक सफलता हासिल गर्ने अपेक्षा गरिएको छ।
सिनेमाका निर्देशक मिलन चाम्सका लागि यो ११औँ निर्देशनात्मक प्रोजेक्ट हो, जसलाई प्रेमकुमार श्रेष्ठले निर्माण गरेका हुन्। उत्कृष्ट कथा, भावनात्मक अभिनय, र प्रेरणादायी यात्राका कारण ‘अञ्जिला’ नेपाली चलचित्र इतिहासमा महत्वपूर्ण स्थान बनाउन सफल देखिन्छ।