‘हिउँको गीत’ सिनेमाको मोसन पोस्टर सार्वजनिक

काठमाडौं / अमेरिकाको ओहायो राज्य, क्लिभल्याण्ड सहरको सुविधा सम्पन्न स्टुडियोमा छायांकन गरिएको नेपाली सिनेमा ‘हिउँको गीत’को मोसन पोस्टर सार्वजनिक भएको छ। बुधबार सार्वजनिक पोस्टरमा वर्षा राउत, जोयश पाण्डेय, पूजा चन्द, आकाश खतिवडा, इशिर कर्माचार्य लगायतका कलाकार फिचर्ड छन्।

विमल सुवेदी निर्देशित सिनेमाको लेखन जोयश पाण्डेयसँगको सहकार्यमा गरिएको हो। नेपाली भाषी भुटानी तथा नेपाली आप्रवासीहरूको कथा समेटिएको यस सिनेमाले भुटान, नेपाल र अमेरिकामा जन्मे हुर्केका फरक-फरक पुस्ताको सपना, आकांक्षा र संघर्षलाई पर्दामा उतार्नेछ।

सिनेमाले भुटानी शरणार्थीहरूको दुःखद इतिहास, नेपालका शरणार्थी शिविरहरूमा बिताएका कठिन दिनहरू, अनि अमेरिका आएपछि नयाँ जीवन सुरु गर्ने क्रममा आउने संरचनात्मक र मनोवैज्ञानिक संघर्षहरूलाई प्रस्तुत गर्नेछ। निर्माण टिमका अनुसार फिल्मले भुटान सरकारद्वारा योजनाबद्ध रूपमा दिइएको यातनादेखि अमेरिका पुगेपछि आउने मानसिक तथा पारिवारिक उतार-चढ़ावसम्मका विषयलाई उठान गर्नेछ।

सिनेमा ‘हिउँको गीत’ निर्देशक विमल सुवेदीले १२ वर्षअघि भारतमा नाटकका रूपमा प्रस्तुत गरेका थिए। उक्त नाटकले तीनवटा मेटा अवार्ड जितेको थियो। त्यसपछि, सुवेदीले ‘हिटलर आउँदैछ’ नामक सांगीतिक नाटक पनि निर्माण गरेका थिए, जसको कथावस्तु यही सिनेमासँग मेल खान्छ।

सिनेमामा वर्षा राउत, जोयश पाण्डेय, पूजा चन्द, आकाश खतिवडा, इशिर कर्माचार्य, थोमस किथ स्कट, केदार उप्रेती, आरबी खड्का, अर्जुन रसाइली, समीर रेग्मी, आयुष भट्टराई, नवीन खनाल, जोशिका रामदाम लगायतको अभिनय रहेको छ।

फिल्ममा नेपाल, भुटान, ताइवान, चीन र मेक्सिकोका सिनेमाकर्मीहरूले काम गरेका छन्। चिनइन गाउलेले सिनेमाटोग्राफी गरेका छन् भने निशान घिमिरेले सम्पादन गरिरहेका छन्।

सहायक निर्देशक आयुषा सञ्जेल रहेकी छन् भने दिकेश खड्गी शाहीले ध्वनि रेकर्ड तथा सम्पादन गरेका छन्। देउकुमार राई नेतृत्वको कला निर्देशन, शंकर बिसी र कौशिला खनाल कर्माचार्यको नृत्य निर्देशन रहेको छ।

संगीततर्फ कालिप्रसाद बास्कोटा, मदन गोपाल, डम्बर नेपाली, अर्जुन रसाइलीले योगदान दिएका छन् भने गीतका शब्द कौशिला खनाल कर्माचार्य, आरबी खड्का, डम्बर नेपाली र प्रतिमा श्रेष्ठले लेखेका छन्।

निर्माण पक्षमा जोयश पाण्डेय, विमल सुवेदी र समुन्द्र राज घिमिरे निर्माताका रूपमा छन्। कार्यकारी निर्मातामा आकाश खतिवडा, जिया कुइँकेल खतिवडा, करुण कुइँकेल, कौशिला खनाल कर्माचार्य, मनोरथ खनाल रहेका छन् भने मधुकर कर्माचार्य, पुन्य कुइँकेल, राकेश भट्टराई र रमेश लुइँटेल एसोसिएट निर्माताका रूपमा छन्।

‘हिउँको गीत’ नेपाली सिनेमाका दर्शकका लागि भिन्न स्वादको कथा लिएर आएको छ। सिनेमाले नेपालीभाषी भुटानीहरूको वास्तविक संघर्षलाई पर्दामा उतार्ने लक्ष्य राखेको छ।

About The Author

Leave a Reply

Your email address will not be published.