‘नरसिंहा अवतार’ चैत २९ को प्रतिस्पर्धाबाट पछि हट्यो

काठमाडौं / आगामी नयाँ वर्ष २०८२ लाई लक्षित गर्दै चैत २९ गते प्रदर्शन मिति तय गरिएका तीन एक्सन फिल्ममध्ये ‘नरसिंहा अवतार’ पछाडि हटेको छ। निर्देशक दीवाकर भट्टराईका अनुसार, प्राविधिक काम नसकिएकाले फिल्म निर्धारित मितिमा रिलिज हुन नसक्ने भएको हो।

निर्देशक भट्टराईले भने, ‘हामीले भर्खरै मात्र छायांकन सक्यौं, प्राविधिक काम अझै बाँकी छ। साथै, चैत २९ मा धेरै नेपाली फिल्म प्रदर्शन हुँदैछन्, जसले गर्दा हामी एकल प्रदर्शनको लागि नयाँ मिति खोज्दै छौं।’ उनका अनुसार, फिल्म आगामी जेठमै रिलिज गरिनेछ।

‘नरसिंहा अवतार’ चर्चित अभिनेता राजेश हमालको आठ वर्षपछिको कमब्याक फिल्म हो, जसप्रति दर्शकको उच्च चासो छ। हमालका पछिल्ला केही फिल्मले राम्रो प्रदर्शन गर्न नसकेपछि उनले लामो समय ब्रेक लिएका थिए। यसैले, ‘नरसिंहा अवतार’ हमालको करिअर पुनःस्थापित गर्ने महत्त्वपूर्ण फिल्म बन्न सक्ने अनुमान गरिएको छ।

फिल्ममा राज कटुवाल, नीति शाह, सनिशा भट्टराई, नीर शाह, सरोज खनाल, उषा खड्गी, प्रशान्त ताम्राकार, दीपा शाही र राजीव मानन्धर लगायतका कलाकारको अभिनय रहेको छ। नेम महर्जन, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने र दीपक ढकाल निर्माता रहेको यस फिल्मको द्वन्द्व निर्देशन चन्द्र पन्तले गरेका छन्।

फिल्ममा राजेश हमाललाई दुई फरक लुक्समा देख्न सकिने बताइएको छ। एकल प्रदर्शनको प्रयास भइरहेकाले अब फिल्मको नयाँ मिति छिट्टै घोषणा गरिने निर्देशक भट्टराईले बताएका छन्।

About The Author

Leave a Reply

Your email address will not be published.