सौरभ चौधरी निर्देशित एक्सन सिनेमा ‘कर्मा’ देशव्यापी प्रदर्शनमा

फ्राइडे रिलिज अन्तर्गत आज (शुक्रबार)देखि सौरभ चौधरीद्वारा निर्देशित नेपाली एक्सन सिनेमा ‘कर्मा’ देशव्यापी रुपमा प्रदर्शनमा आएको छ। ‘अगस्त्यः च्याप्टर १’ मार्फत चर्चा कमाएका चौधरीको निर्देशनमा बनेको यो सिनेमा नयाँ वर्ष २०८२ को उपलक्ष्य पारेर रिलिज भएको हो।
काठमाडौंदेखि मोफसलका हलसम्म करिब १५० शोमा प्रदर्शन भइरहेको ‘कर्मा’ ले एक्सन, ड्रामा र सस्पेन्सको संयोजनमार्फत दर्शकलाई मनोरञ्जन दिने लक्ष्य राखेको छ। निर्माणपक्षले सिनेमा दर्शकलाई सुरुदेखि अन्त्यसम्म बाँधेर राख्न सक्ने दाबी गरेको छ।
सिनेमामा विपीन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिब्यदेब, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मा लगायत कलाकारको अभिनय रहेको छ। सिनेमाको कथा निर्देशक चौधरी आफैँले लेखेका हुन्।
प्राविधिक पक्षमा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, निमेष श्रेष्ठको सम्पादन, र समीर मियाको भिएफएक्स रहेको छ। यस्तै, शाहिल खानले टिजर-ट्रेलर तयार पारेका छन् भने विजय बश्याल पब्लिसिटी डिजाइनर र राजेन्द्र मोक्तान कलरिस्टका रूपमा सहभागी छन्। सिनेमाका मुख्य सहायक निर्देशक तारानाथ न्यौपाने हुन् भने व्याकग्राउण्ड स्कोर उत्तम न्यौपानेले तयार पारेका छन्।
आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुति रहेको ‘कर्मा’ मा वसन्त लम्सालको लगानी रहेको छ। दर्शक र समीक्षकबाट सकारात्मक प्रतिक्रिया बटुल्ने अपेक्षासहित रिलिज भएको ‘कर्मा’ ले नेपाली एक्सन सिनेमामा नयाँ स्वाद ल्याउने विश्वास गरिएको छ।