सिनेमा ‘बिगुल’को गीतमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको शब्द र संगीत

समसामयिक सामाजिक तथा राजनीतिक विषयमा निर्माण हुन लागेको सिनेमा ‘बिगुल’ को एउटा विशेष गीतमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले शब्द र संगीत सृजना गरेका छन्। ‘आउ यस्तो देश बनाऔं’ बोलको उक्त गीत बुधबार अनामनगरस्थित सायारेम स्टुडियोमा रेकर्ड गरिएको हो।

राजेश पायल राईको स्वर रहेको यो गीतमा शर्मा स्वयंले शब्द लेखेका र संगीत पनि दिएका हुन्। निर्देशक रमेश कोइरालाको निर्देशनमा तयार हुँदै गरेको सिनेमामा यो गीत निकै अर्थपूर्ण रहेको बताइएको छ। “महामन्त्री शर्माले निकै सान्दर्भिक शब्द र मिठासपूर्ण संगीत सृजना गर्नुभएको छ,” निर्देशक कोइरालाले बताए, “कुशल राजनीतिज्ञका साथै गीत–संगीतमा पनि गहिरो रुचि र ज्ञान भएका विश्वप्रकाश दाइप्रति नतमस्तक छु।”

म्याग्नोलिया ग्रुप प्रालि को ब्यानरमा कल्पना पौडेलको प्रस्तुति रहेको सिनेमा ‘बिगुल’ मा नरेन खड्का, बेनिशा हमाल, रमेश बुढाथोकी, गीता अधिकारी, सुमोद भारद्वाजलगायतका कलाकार अनुबन्धित भइसकेका छन्।

निर्देशक कोइरालाका अनुसार ‘बिगुल’ ले मनोरञ्जनका साथसाथै राष्ट्रप्रेम र राष्ट्रिय चेतनाको सन्देश प्रवाह गर्ने लक्ष्य लिएको छ। सिनेमा बैशाख तेस्रो साताबाट चितवनका विभिन्न स्थानमा छायांकन सुरु हुनेछ।

शिव ढकालले छायांकन गर्ने सिनेमाको कथा दिनेश कोइरालाको हो भने पटकथा तथा संवाद मौनता श्रेष्ठले लेखेका हुन्। गीतहरूमा विश्वप्रकाश शर्मा सँगसँगै अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत रहेको छ। कविराज गहतराजको कोरियोग्राफी रहेको यस सिनेमाको निर्माण व्यवस्थापकमा श्याम केसी रहेका छन्।

About The Author

Leave a Reply

Your email address will not be published.