गणतन्त्र दिवसमा प्रदर्शन हुने ‘महाभोज’का दुई पोस्टर सार्वजनिक, सामाजिक यथार्थमा आधारित कथा

काठमाडौं / बहुप्रतीक्षित नेपाली चलचित्र ‘महाभोज’ आगामी जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर प्रदर्शनमा आउने तयारीमा रहेको छ। निर्माण पक्षले चलचित्रको प्रचारप्रसारलाई तीव्र बनाउँदै आइतबार दुई नयाँ पोस्टर सार्वजनिक गरेको छ।

सार्वजनिक पोस्टरमध्ये एकमा प्रमुख कलाकारहरू आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ र मलिका महत देखिएका छन्। पृष्ठभूमिमा देखाइएको पैसाको चित्रणले चलचित्रले राजनीतिक तथा सामाजिक यथार्थलाई उजागर गर्ने संकेत गर्छ।

दोस्रो पोस्टर ग्रामीण परिवेशमा आधारित छ, जसमा मुख्य कलाकारहरूसँगै वसुन्धरा भुसाल, बुद्धि तामाङ, कमलमणि नेपालजस्ता चर्चित कलाकारहरू पनि देखिएका छन्। दुबै पोस्टरको डिजाइन रोयल भीमसेनले गरेका हुन्।

निर्देशक दिनेश राउतले वैशाख ९ गते मंगलबार चलचित्रको टिजर सार्वजनिक गरिने जानकारी दिएका छन्। निर्देशक राउतका अनुसार ‘महाभोज’ केवल मनोरञ्जन होइन, समाजमा भइरहेका घटनाक्रमले जनजीवनमा पार्ने असरलाई उजागर गर्ने गम्भीर प्रयास हो।

सामाजिक यथार्थमा आधारित यस चलचित्रमा वर्गसंघर्ष, राजनीतिक परिस्थिति र सामाजिक अन्यायका विषयवस्तुहरू उठाइएको छ। चलचित्रमा दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, आर्यन सिग्देलका साथै वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाहलगायतको अभिनय देख्न पाइनेछ।

‘महाभोज’ क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त ब्यानरमा निर्माण भएको हो भने हिमाल कडरिया निर्माता हुन्। चलचित्रको कथा तथा पटकथा विकास सुवेदीले लेखेका हुन्। निर्माण पक्षका अनुसार फिल्म नेपालसँगै नेपालीहरूको बसोबास रहेका अन्य देशहरूमा पनि एकैसाथ प्रदर्शन गरिनेछ।

बलियो स्टार कास्ट, सशक्त निर्देशन र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने ‘महाभोज’ले दर्शकमाझ गहिरो प्रभाव पार्ने अपेक्षा गरिएको छ।

About The Author

Leave a Reply

Your email address will not be published.