फिल्म ‘कार्की साइँला’को शुभमुहूर्त, जितु नेपाल र वर्षा सिवाकोटी पहिलोपटक एकसाथ पर्दामा

काठमाडौं / भारी बोक्ने भरियाको कथामा आधारित भएर निर्माण हुन लागेको नेपाली फिल्म ‘कार्की साइँला’ को सोमबार बिहान काठमाडौंको कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा स्क्रिप्ट पूजासहित शुभमुहूर्त गरिएको छ।

फिल्मको मुहूर्त सट अभिनेता जितु नेपाल र अभिनेत्री वर्षा सिवाकोटीले दिएका थिए। यो फिल्ममार्फत् उनीहरू पहिलो पटक एकसाथ अभिनय गर्दै छन्।

‘कार्की साइँला’ लाई राजेन्द्र बस्नेतले निर्देशन गर्दैछन्। कर्ण बहादुर फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्मका प्रस्तुतकर्ता कृष्ण भगत चाम्लिङ र निर्माता बालकुमार राई हुन्। कार्यकारी निर्माता राजु श्रेष्ठ रहेका छन्।

फिल्ममा जितु र वर्षासँगै गीता अधिकारी, मान्सी शर्मा, श्याम मगर, मनिल तामाङ लगायत कलाकारको अभिनय रहनेछ। फिल्मको कथा तथा संवाद अजित लामिछानेले लेखेका हुन् भने छायांकन डम्बर बहादुर राईले गर्नेछन्। द्वन्द्व निर्देशन राजु किराँती, संगीत बाबुल गिरि, गीत जीवननाथ गौतम र नृत्य निर्देशन कमल राईको रहनेछ।

निर्देशक बस्नेतका अनुसार फिल्मको छायांकन बैशाख २० गतेदेखि सुरु हुनेछ, जसको मुख्य लोकेशन धनकुटाको पहाडी भू–भाग रहनेछ। उनले फिल्मले ग्रामीण जीवन, संघर्ष र सम्भावनाको कथा मार्मिक रूपमा प्रस्तुत गर्ने जनाएका छन्।

About The Author

Leave a Reply

Your email address will not be published.