सिनेमा ‘जार’ले नेपाली सिनेमामा नयाँ उचाइ ल्याउने दाबी

काठमाडौं / बैशाख २६ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली सिनेमा ‘जार’ले नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने निर्माणपक्षले दाबी गरेको छ।

फेरि टेल पिक्चर्सको ब्यानरमा बनेको यो सिनेमा साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित छ। सन् १८०० को दशकमा नेपाली समाजमा घटेको यथार्थ घटनालाई समेटिएको यस सिनेमालाई निर्देशक फूर्वा छिरिङ लामाले निर्देशन गरेका हुन्।

निर्देशक लामाका अनुसार सिनेमाको विषयवस्तु, प्रस्तुति र प्राविधिक पक्ष अत्यन्तै बलियो छ। “हामीले नेपाली समाजले भोगेको गहिरो विषय उठाएका छौं,” उनले भने, “यो केवल सिनेमा होइन, समाजको दस्तावेज हो।”

सिनेमाका कतिपय पोस्ट प्रोडक्सनका काम भारतमा गरिएका छन् ताकि प्राविधिक पक्षमा कुनै कमजोरी नरहोस्। कलाकार छनोट पनि कथाका पात्रअनुसार गरिएको निर्देशक लामाले बताए।

सिनेमामा सौगात मल्ल, अनुपविक्रम शाही र भारतीय राष्ट्रिय पुरस्कार विजेता अभिनेत्री गीताञ्जली थापालगायतको मुख्य भूमिका रहेको छ। सिक्किममा छायांकन गरिएको सिनेमाको कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन्।

सिनेमामा सरवानन इलावार्सुको छायांकन, अखिलेश राईको सम्पादन र झुमा लिम्बु तथा गंगा थापाको संगीत रहेको छ।

‘जार’ नेपाल, भारतसहित विश्वभरका दर्शकमाझ एकसाथ प्रदर्शनमा आउने छ। नेपालमा यसको वितरण एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले गर्नेछ भने अन्तर्राष्ट्रिय बजारमा सेभेन सिज सिनेमा वितरण कम्पनी रहनेछ।

निर्माण टिमको विश्वास छ – ‘जार’ को प्रस्तुति र कथा मार्फत नेपाली सिनेमा एक नयाँ युगतर्फ उन्मुख हुनेछ।

About The Author

Leave a Reply

Your email address will not be published.