‘छावा’ले बलिउडमा रच्यो नयाँ इतिहास, ६१० करोडको कमाइ

काठमाडौं / विक्की कौशल अभिनीत बलिउड फिल्म ‘छावा’ले बक्स अफिसमा ऐतिहासिक सफलता हात पारेको छ। लक्ष्मण उतेकर निर्देशित यो फिल्मले प्रदर्शनको १०औं हप्तासम्ममा ६१० करोड भारु नेट कमाउँदै बलिउडमा नयाँ कीर्तिमान स्थापित गरेको हो।
केही वर्षअघिसम्म बलिउडमा १०० करोड क्लबलाई सफलता मानिन्थ्यो। तर, पछिल्ला वर्षहरूमा ‘छावा’ जस्ता फिल्महरूले यो परिभाषा नै बदलिदिएका छन्। अब ६ सय करोडको कमाइ पनि सम्भव भएको छ भन्ने विश्वास बलिउडमा पलाएको छ।
‘छावा’ले उक्त आँकडा पार गर्ने पहिलो ‘नन् सिक्वेल’ भारतीय फिल्मको रूपमा इतिहास रच्दै ‘पुष्पा २’ र ‘स्त्री २’ पछि उच्च कमाइ गर्ने तेस्रो भारतीय फिल्म बन्न सफल भएको हो।
‘पुष्पा २’ ले हिन्दी भर्सनमा ८ सय करोड कमाएको थियो भने ‘स्त्री २’ को व्यापार ६२७ करोड भारु पुगेको थियो।
‘छत्रपति सम्भाजी महाराज’को जीवनमा आधारित यो फिल्ममा विक्की कौशलले ऐतिहासिक पात्रको भूमिकालाई जीवन्त रुपमा उतारेका छन्। फिल्ममा विक्कीका साथ अक्षय खन्ना, रश्मिका मन्दाना, आशुतोष राणा, विनीत कुमार सिंह, येसुबाई भोन्सले, दिव्या दत्ता र प्रदीप रावतजस्ता कलाकारको अभिनय रहेको छ।
सिर्जनात्मक निर्देशन र दमदार अभिनयको कारण फिल्मले ३६८.८५ प्रतिशत नाफा आर्जन गर्न सफल भएको छ।
‘छावा’को यस अभूतपूर्व सफलताले बलिउडलाई थप आशावादी बनाएको छ। अब बलिउड फिल्महरू १००० करोड क्लबमा प्रवेश गर्ने लक्ष्यतर्फ उन्मुख भइरहेका छन्।