‘के घर के डेरा: घर नं २’ को पहिलो गीत ‘आँखा’ सार्वजनिक

काठमाडौं / आगामी जेठ २ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘के घर के डेरा: घर नं २’ को पहिलो गीत ‘आँखा’ सार्वजनिक गरिएको छ। प्रेमिल भावले भरिएको यस गीतमा रिकेश गुरुङको सुमधुर स्वर, राम अविरल विष्टको शब्द रचना र एसडी योगीको संगीत सुन्न सकिन्छ।
गीतको भिडियोमा फिल्मका मुख्य कलाकार खगेन्द्र लामिछाने र उपासना सिंह ठकुरी फिचर छन्। उनीहरूद्वारा अभिनीत दृश्यहरू प्रेमिल भावना व्यक्त गर्ने खालका छन्, जसमा प्रेमी–प्रेमिकाको आँखाबाट झल्किएको प्रेम भावलाई देखाइएको छ। भिडियोले खगेन्द्र र उपासनाबीच प्रेम अंकुराएको कालखण्ड चित्रण गर्छ।
दीपेन्द्र के. खनालद्वारा निर्देशित तथा चर्चित लेखक बुद्धिसागरद्वारा लिखित यो फिल्ममा निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्ट लगायत कलाकारहरूको अभिनय रहेको छ।
सामाजिक कथावस्तुमा आधारित फिल्मका निर्माता नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन हुन् भने कार्यकारी निर्माता युवराज कार्की हुन्। फिल्ममा कृष्णबहादुर थापाको छायांकन, नहकुल खड्काको सम्पादन, केविका खत्रीको कोरियोग्राफी, सञ्जय थापाको द्वन्द्व निर्देशन, जुनिम गहतराजको रंग संयोजन तथा शैलेस श्रेष्ठको ब्याकग्राउन्ड स्कोर रहेको छ।
फिल्मले दर्शकलाई समसामयिक सामाजिक विषयवस्तुमा आधारित कथा मार्फत मनोरञ्जन दिने अपेक्षा गरिएको छ।