चलचित्र ‘महाभोज’को टिजर सार्वजनिक, सामाजिक यथार्थ र वर्ग संघर्षको गहिरो चित्रण

काठमाडौं/ आगामी जेठ १५ गते प्रदर्शनमा आउन लागेको नेपाली बहुप्रतीक्षित चलचित्र ‘महाभोज’ को टिजर सार्वजनिक गरिएको छ। सामाजिक यथार्थमा आधारित टिजरले पैसाले निम्त्याउने पारिवारिक, सामाजिक र नैतिक द्वन्द्वलाई प्रभावशाली रूपमा प्रस्तुत गरेको छ।
टिजरमा अभिनेता खगेन्द्र लामिछाने र दयाहाङ राई को दमदार संवाद – “गोली ठोकेर मान्छे मार्दैमा मात्र हत्यारा हुँदैन, मान्छेलाई मर्न बाध्य बनाउने पनि हत्यारा हुन्छ !” – ले चलचित्रले गहिरो सामाजिक सन्देश बोकेको संकेत गर्छ। यो संवादले आर्थिक असमानता, सामाजिक अन्याय र संरचनागत हिंसाजस्ता गम्भीर विषयलाई उजागर गर्ने फिल्मको दृष्टिकोण देखाउँछ।
दयाहाङ राईलाई सहकारी संस्थाको अध्यक्षको रूपमा प्रस्तुत गरिएको छ, जसले कहिले खुसी, कहिले आक्रोशित पात्रको रूपमा विविध मनोदशा प्रदर्शन गर्छन्। टिजरमा देखिएको खुकुरी लिएर प्रवेश गर्ने र मोटरसाइकल जलिरहेको दृश्यले कथावस्तुको तनावपूर्ण पाटो उजागर गर्छ। उनकी पत्नीको भूमिकामा रहेकी गौमाया गुरुङले पतिको आक्रोश शान्त पार्ने प्रयास गर्दै पारिवारिक पक्ष सम्हाल्ने दृश्य देखिन्छ।
चलचित्रमा खगेन्द्र लामिछाने र अञ्जना बराइलीलाई पति-पत्नीको भूमिकामा देखाइएको छ, जो आर्थिक संकटका कारण दाम्पत्य तनाव भोगिरहेका छन्। मलिका महत एक रहस्यमय भूमिकामा प्रस्तुत भएकी छन्, जसमा उनी प्रहरीसँग आफू निर्दोष रहेको स्पष्टीकरण दिइरहेकी छन्।
आर्यन सिग्देललाई गाउँपालिका अध्यक्षको रूपमा देखाइएको छ, जसले फिल्मको सन्दर्भलाई राजनीतिक तहसम्म विस्तार गर्छ। टिजरको अन्तिममा देखिएको वाक्य “सत्य कहिल्यै लुक्दैन” चलचित्रको मुख्य सन्देशप्रति संकेत गर्छ।
दिनेश राउत निर्देशित चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल र वीरेन्द्र सिंह कुशवाह लगायत कलाकारको अभिनय समावेश गरिएको छ।
क्लक वर्क क्रियशन र पिक्चर फ्रेम को संयुक्त ब्यानरमा निर्माण भएको फिल्मका निर्माता हिमाल कडरिया हुन् भने कथा तथा पटकथा विकास सुवेदीले लेखेका हुन्। निर्माण पक्षका अनुसार ‘महाभोज’ नेपालसँगै विदेशस्थित नेपाली समुदायमा पनि एकैसाथ रिलिज गरिनेछ।
चलचित्रले दर्शकलाई नेपाली समाजमा विद्यमान वर्ग संघर्ष र अस्तित्वको लडाइँलाई सशक्त ढंगले प्रस्तुत गर्ने अपेक्षा गरिएको छ