वैशाख १२ गतेदेखि प्रदर्शनमा आउने सिनेमा ‘खेल’, अभिनेत्री समापिका गौतमको डेब्यू

काठमाडौं / नेपाली सिनेमा ‘खेल’ आगामी वैशाख १२ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको छ। नेपाली लोककथा, परम्परा, अध्यात्म र सस्पेन्स थ्रिलरको संयोजनमा बनेको यो सिनेमा काठमाडौंको होस्टेलमा बसेका केही युवाहरूको जीवनसँग जोडिएको कथामा आधारित छ।

अनुराग प्रधान र आस्था श्रेष्ठद्वारा निर्देशित यस सिनेमाले नेपाली थ्रिलर विधामा नयाँ स्वाद ल्याउने अपेक्षा गरिएको छ। ‘खेल’ सिनेमा मार्फत थिएटरबाट अभिनय यात्रा सुरु गरेकी समापिका गौतमले ठुलो पर्दामा डेब्यू गर्दैछिन्।

समापिकाले सिनेमा ‘खेल’लाई आफ्नो अभिनय यात्राको महत्वपूर्ण मोड मानेकी छिन्। थिएटरमा अभिनय गर्दै हुर्किएकी उनी पर्दामा आफूलाई देख्दा भावनाले भरिएको अनुभव भएको बताउँछिन्। “म पर्दामा धेरै सिनेमा कर्मीहरूलाई देख्दै हुर्किएकी हुँ । अब पर्दामा आफूलाई देख्दा जुन अनुभूति भयो, त्यो शब्दमा भन्न गाह्रो छ,” उनले भनिन्।

थिएटरले दिएको कलात्मक आत्मविश्वासलाई आत्मसात् गर्दै समापिकाले अभिनयलाई निरन्तर सिकाइ र खोजको प्रक्रिया मानेकी छिन्। उनले चलचित्रमा ‘ईसा’ नामकी एक भावुक र साथीप्रति समर्पित युवतीको भूमिका निर्वाह गरेकी छन्। समापिका भन्छिन्, “हाम्रो केही स्वभाव मिल्छन्, तर केही भिन्नता पर्दामा हेर्न पाइन्छ।”

सानैदेखि कलाकार बन्ने रहर बोकेकी समापिकाको अभिनय यात्रा एसएलसीपछि थिएटर प्रवेशसँगै सुरु भएको हो। परिवारको साथ, प्रेरणा र निरन्तर अभ्यासमार्फत उनी अभिनयको संसारमा प्रवेश गरेकी हुन्। समापिकाको लक्ष्य केवल पर्दामा देखिनु मात्र नभई नेपाली सिनेमा क्षेत्रमा सशक्त कला चेतना निर्माणमा योगदान गर्नु हो। उनलाई फरक-फरक भूमिकामा काम गर्दै भर्सटाइल कलाकारका रूपमा स्थापित हुने चाहना छ।

सिरुपाते कट्स प्रालिको ब्यानरमा निर्माण भएको ‘खेल’ का निर्माता लुइसराज महर्जन र आशिषराज महर्जन हुन्। सिनेमामा समापिका गौतमसँगै सुरक्षा पन्त, मोनिका थापा, हेना नगरकोटी, निकिता आचार्य, मिथिला शर्मा, सरिता गिरी र भोलाराज सापकोटाको समेत अभिनय रहेको छ।

सिनेमाले युवाहरूको संवेदनशीलता, सम्बन्धको जटिलता र मनोवैज्ञानिक उतारचढावलाई अध्यात्म र थ्रिलर शैलीमा प्रस्तुत गर्ने प्रयास गरेको छ। ‘खेल’ दर्शकमाझ फरक स्वाद र अनुभव ल्याउने विश्वास गरिएको छ।

About The Author

Leave a Reply

Your email address will not be published.