ओस्कार अवार्डमा ठूला परिवर्तन : नयाँ नियमसहित ९८औँ संस्करणको तयारी

ओस्कार अवार्ड प्रदान गर्ने संस्था एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेजले ९८औँ ओस्कार अवार्डका लागि महत्वपूर्ण परिवर्तनहरूको घोषणा गरेको छ। एकेडेमीले सदस्यहरूको मतदान प्रक्रियामा पारदर्शिता र जिम्मेवारी सुनिश्चित गर्न केही कडा नियमहरू लागू गर्ने निर्णय गरेको हो।
अबदेखि कुनै पनि सदस्यले यदि कुनै विधामा मतदान गर्न चाहन्छ भने, उक्त विधामा मनोनित भएका सबै चलचित्रहरू पूरै हेर्नै पर्ने छ। चलचित्र हेरेको ट्रयाक राख्नका लागि ‘एकेडेमी स्क्रिनिङ रुम’ नामक विशेष प्लेटफर्म प्रयोग गरिनेछ, जुन केवल एकेडेमी सदस्यहरूका लागि मात्र उपलब्ध हुनेछ। यदि सदस्यले त्यो प्लेटफर्म बाहिर चलचित्र हेर्छन् भने उनले कहिले र कहाँ हेरेको हो भन्ने विवरणसहित फारम भर्नुपर्नेछ।
यो नियम पहिल्यैदेखि अन्तर्राष्ट्रिय फिचर फिल्म र एनिमेटेड सर्ट फिल्मजस्ता केही श्रेणीमा लागू भए तापनि अब सबै विधामा समान रूपले लागू हुनेछ। साथै, अब फाइनल मतपत्रमा चलचित्रको नाम मात्र नभई मनोनयनमा परेका व्यक्तिको नाम पनि समावेश गरिनेछ।
नयाँ श्रेणी थपियो : एचिभमेन्ट इन कास्टिङ
यस वर्षबाट एकेडेमीले ‘Achievement in Casting’ नामक नयाँ श्रेणी सुरु गरेको छ, जसमा कास्टिङ डाइरेक्टरको योगदानलाई मान्यता दिइनेछ।
यस श्रेणीमा कास्टिङ शाखाले १० चलचित्र सर्टलिस्ट गर्नेछ र ती चलचित्रहरू ‘बेक अफ’ कार्यक्रममा प्रस्तुत गरिनेछन्, जसमा ५ मिनेटको क्लिप र प्रश्नउत्तर सत्र समावेश हुनेछ। सर्टलिस्ट गरिएका सबै चलचित्र हेरिसकेपछि सदस्यहरूले ५ वटा चलचित्रलाई नोमिनेट गर्न भोट दिनेछन्। अन्ततः सम्पूर्ण एकेडेमी सदस्यले मतदान गर्नेछन्, जसका लागि सम्पूर्ण प्रस्तुतिको सम्पादित संस्करण उपलब्ध गराइनेछ।
सिनेम्याटोग्राफी लगायत १२ प्राविधिक विधामा सर्टलिस्ट प्रणाली लागू
अबदेखि ‘उत्कृष्ट सिनेम्याटोग्राफी’ श्रेणीमा पनि सर्टलिस्ट बनाइनेछ, जसमा १० देखि २० चलचित्र राखिनेछ। यससँगै अब कुल १२ प्राविधिक विधामा सर्टलिस्ट प्रणाली लागू हुनेछ।
तर, उत्पादन डिजाइन, पोशाक डिजाइन र फिल्म सम्पादन विधामा भने यो प्रक्रिया लागू हुने छैन।
एआईसम्बन्धी पहिलो औपचारिक नीति
पहिलोपटक एकेडेमीले जेनेरेटिभ एआई प्रयोगसम्बन्धी नीति सार्वजनिक गरेको छ। अब फिल्ममा एआई वा डिजिटल टुल प्रयोग गरिएको भए न त फाइदा हुन्छ, न नोक्सान। मूल्यांकनको मुख्य आधार कलाकारले कति वास्तविक योगदान गरेका छन् भन्ने हुनेछ।
महत्वपूर्ण मिति र कार्यक्रम
आगामी ओस्कार सिजनका लागि सेप्टेम्बर १० र नोभेम्बर १३ लाई महत्त्वपूर्ण मिति तोकिएको छ, जुन चलचित्रको रिलिज मितिमा आधारित हुनेछ।
ओस्कार अवार्डको ९८औँ संस्करण मार्च १५, २०२६ मा आयोजना हुने तय गरिएको छ।
यसपटकका परिवर्तनहरूले ओस्कार अवार्डलाई अझ पारदर्शी, उत्तरदायी र समावेशी बनाउने अपेक्षा गरिएको छ।