गायिका पाख्रिनको ‘धुन’ सार्वजनिक

 गायिका रमला पाख्रिनको गीत ‘धुन’ सार्वजनिक गरिएको छ । एकीकृत समृद्धि नेपाल बाल आश्रममा आश्रीत अनाथ बालबालिकाको हातबाट पाख्रिनको गीत बिमोचन गरिएको हो ।

शुक्रबार काठमाडौंको तारकेश्वरमा अवस्थित आश्रममा आश्रीत ३५ जना बालबालिका र गायिका पाख्रिनले संयुक्तरुपमा गीत सार्वजनिक गरेका हुन् । सो अवसरमा पाख्रिनले आफ्नो गीत गाएर सुनाएकी थिइन् भने बालबालिकाहरु नाचगान गरेर रमाएका थिए ।

द्वन्द्व पीडित तथा अति विपन्न अनाथ बालबालिकालाई आश्रय दिइरहेको आश्रममा १४ जिल्लाका विभिन्न उमेर समुहका बालबालिकाहरु रहेका छन् । बिगत १३ वर्षदेखि सञ्चालनमा रहेको आश्रमले नै उनीहरुको शिक्षासहित गाँसबासको व्यवस्था गर्दै आएको छ ।

गीत सार्वजनिक गर्दै गायिका पाख्रिनले आश्रमका लागि झण्डै एक महिनालाई पुग्ने खाद्यान्नसमेत हस्तान्तरण गरेकी थिइन् । गायिका पाख्रिनको यो कदमले आफूहरुको पवित्र समाज सेवामा थप हौसला मिलेको संस्थाका अध्यक्ष भीम रोका मगरले बताए ।

सार्वजनिक गीतमा पाख्रिन र कमल खत्रीको स्वर र खत्रीकै शब्द तथा संगीत रहेको छ । यस्तै राजेश पुमा राईले निर्देशन गरेको भिडियोमा मिरुना मगर र गणेशमान घलेको अभिनय, उत्सव दाहालको छायाँकन र विकास दाहालको सम्पादन रहेको छ ।

लोक भाकाका विभिन्न विधाका ६ सयभन्दा बढी गीतमा स्वर दिएकी पाख्रिनका चर्चित गीतहरुमा ‘लाकपर योन्दोङ्ग’, ‘साइकोले कोऊ’, ‘रन्दा तपरिम’, ‘शिरैमा सिरफुल’, ‘सोह्र नपुग्दै’ लगायत रहेका छन् ।

About The Author

Leave a Reply

Your email address will not be published.