कस्तो हुनुपर्छ कोरोनापारिको सिने तयारी ? गम्भीर भएर राम्रो सिनेमा नबनाउने हो भने दर्शकले फर्केर पनि हेर्दैनन्

२०७७ बैशाख १६ मंगलबार संसारभरका मानिस लकडाउनमा बसेको महिना दिनभन्दा बढी भयो । त्यसमध्ये अधिकांशले यसबीचमा घरबाटै काम गरे, सिनेमा हेरे, पुस्तक पढे या सिर्जनात्मक काममा आफूलाई व्यस्त राखे ।

सामाजिक सञ्जाल हेर्दा थाहा हुन्छ कि मानिसले सबैभन्दा ज्यादा सिनेमा नै हेरेका छन् । सिनेमासँग सम्बन्धित विभिन्न समूहदेखि सामाजिक सञ्जालका स्ट्याटस र ट्विट्मा राम्रा सिनेमा सिफारिस गर्नेहरूको बाढी नै लाग्यो यसबीचमा । तर, त्यस्तो सिफारिसमा नेपाली सिनेमा कमै परेका छन् ।

‘अबको यात्रा नयाँ शिराबाट सिनेमा बनाउने मार्गमा हुनुपर्छ, जसले मेकिङ शैली, सिर्जनात्मकता र विषयवस्तुका हिसाबबाट अन्य उद्योगका सिनेमासँग भिड्न सकून् ।’

आधा शताब्दीको इतिहास रहेको नेपाली सिने उद्योगमा हेर्नलायक मानिने सिनेमा छँदै छैनन् त ? निर्देशक दीपेन्द्र के खनालको मनमा खेलिरहेको प्रश्न हो यो । ‘अवश्य छन्, तर औँलामा गन्नुपर्छ,’ उनी आफैँलाई जवाफ दिन्छन् । वर्षमा सयको हाराहारीमा फिल्म बन्ने उद्योगमा राम्रो सिनेमा औँलामा गन्नुपर्ने ? खनालको जवाफ छ, ‘राम्रो मेकर हुनु परेन !’ अब मेकर गम्भीर नभई आगामी यात्रालाई उचाइमा पु-याउन नसकिने बोध उनलाई पनि भएको छ ।

सिनेमा नै नहेर्ने मानिसहरू अहिले दैनिक एक–दुईवटा फिल्म हेरिरहेका छन् । अर्थात्, जो दर्शक नेपाली फिल्म हेर्न हलसम्म पुग्दैनन्, उनीहरूमा सिनेमा हेर्ने आदत लागेको छ । र, उनीहरूको रोजाइमा परेका छन्, विदेशी आर्ट सिनेमा । निर्देशक खनालको बुझाइमा लकडाउनले सिनेमा साक्षरता बढाइदिएको छ । ‘यो हाम्रा लागि अवसर र चुनौती दुवै हो,’ उनी भन्छन्, ‘अब पनि हामी गम्भीर भएर राम्रो सिनेमा नबनाउने हो भने दर्शकले फर्केर पनि हेर्दैनन् । मेकरहरू यसबारे सचेत हुनैपर्छ ।’

त्यसैले, आफूले हालसम्म पूरा गरेको यात्राबारे अब मन्थन गर्नुपर्ने समय आएको महसुस खनाललाई भएको छ । ‘आफैँले बनाएका सिनेमा दर्शकका रूपमा हेरेर गल्ती पत्ता लगाऔँ,’ उनी भन्छन्, ‘र, भविष्यमा ती गल्ती नदोहो-याउने प्रण गरौँ ।’ राम्रा र सम्भावना देखिएका मेकरले यी विषयमा सोचिरहेका होलान्जस्तो लाग्छ उनलाई । र, महामारीको यो त्रासदी समाप्त भएपछि अर्को वर्षसम्ममा दुई–चारवटा राम्रा सिनेमा आउने आशामा छन् उनी ।

अहिले कतिपय सिनेमा आधा सुटिङ भएर रोकिएका छन् । कति सिनेमा डबिङमा छन् त कतिपय सम्पादनमा । प्रदर्शनका लागि तयार र मिति नै तोकिएका सिनेमा कहिले प्रदर्शन हुने हुन्, अनिश्चित छ । प्रवद्र्धनमा लागिरहेका कलाकार लकडाउनमा छन् । यसबाट निर्मातालाई कत्रो मार पर्ला ? अनुमान गर्न सकिने अवस्था छैन । भविष्यमा नेपाली सिनेमालाई पुरानै ढर्राबाट अगाडि बढाउनु मूर्खताबाहेक केही नहुने खनालको विश्लेषण छ । भन्छन्, ‘नेपाली सिनेमामा ठूलो समस्या मेकरमै देखिएको छ । मेकर एकदमै कमजोर छन् ।’

गत ९ फागुनदेखि प्रदर्शनमा आएको आफ्नो फिल्म ‘आमा’ले राम्रो संख्यामा नयाँ दर्शक पाएको उनको बुझाइ छ । त्यसले आफूलाई हौस्याएको उनी बताउँछन् । त्यसयता उनको मनमा प्रश्न खेलिरहेको छ, हामीले नयाँ दर्शक तान्ने प्रयास कहिले ग-यौँ त ? उनी भन्छन्, ‘तपाईंको सिनेमा हेर्न नयाँ दर्शक आउन सक्दैनन् भने अनुमान गर्नुस्, बजार बढिरहेको छ कि खुम्चिरहेको !’

मेकरलाई कसैले सिनेमा यसरी बनाऊ भन्दैमा उसले बनाउन नसक्ने उनको भनाइ छ । मेकरले यसरी बनाउँछु भनेर निर्मातादेखि कलाकारसम्मलाई कन्भिन्स गर्ने उनी बताउँछन् । भन्छन्, ‘जंगलमा लगेर छाडिदिएपछि कसरी सिकार गर्छ भन्ने सिकारी कुकुरको कला हो, मालिकको काम जंगलसम्म पु¥याउने मात्र हो, कुकुरसँगै पछि लाग्दा सिकार हात लाग्दैन ।’

खनाल केही मेकरप्रति आशावादी छन् । भन्छन्, ‘राम्रो सिनेमा बनाउने मेकरलाई हौसला दिनुपर्छ ।’ त्यसैले हो, उनले भनिरहेको पनि– ‘यो आफैँलाई चिन्ने अवसर हो ।’ खनाल थप्छन्, ‘अबको यात्रा नयाँ शिराबाट सिनेमा बनाउने मार्गमा हुनुपर्छ, जसले मेकिङ शैली, सिर्जनात्मकता र विषयवस्तुका हिसाबबाट अन्य उद्योगका सिनेमासँग भिड्न सकून् ।’ ( नयाँ पत्रीका )

About The Author

Leave a Reply

Your email address will not be published.