कोरोना आशंकाले मृत्यु भएको व्यक्तिको रिपोर्ट नेगेटिभ

जुम्ला । जुम्लाको हिमा गाउँपालिका–२ ओदीगाउँका ३८ वर्षीय एक व्यक्तिको मृत्यु भएपछि कोरोना भाइरसको सङ्क्रमण आशङ्का गरिएको थियो । मृतकको घरका पाँच सदस्यलाई ज्वरो आउने, कपाल दुख्ने भएपछि कोरोना सङ्क्रमणको आशङ्का गरिएको हो ।

जनस्वास्थ्य कार्यालय जुम्लाका जनस्वास्थ्य प्रमुख कृष्णप्रसाद सापकोटाले भने, “कोरोना भाइरस सङ्क्रमणको आशङ्काले मृत्यु भएको जानकारी आएपछि स्वाब सङ्कलन गरी ल्यायौँ ।” मृतकसहित दुई छोरी, एक छोरा र श्रीमतीको सङ्कलन गरी ल्याएको स्वाब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको पिसीआर उपकरणमा परीक्षण गर्दा पाँचै जनाको रिपोर्ट नेगेटिभ आएको उनले बताए ।

“मृतकको इतिहास बुझ्दा उनी घरबाट कतै बाहिर नगएको भएपछि गाउँमा भारतबाट आएका व्यक्ति भएकाले कोरोना भाइरसको सङ्क्रमणले मृत्यु भएको हो कि भनेर आशङ्का गरिएको रहेछ”, उनले भने, “तर स्वाब परीक्षण गर्दा कोरोना भाइरसको कारणले नभएर आफ्नै कालगतिले मृत्युको पुष्टि भएको हो ।”

लकडाउन अवधिभर जुम्लामा भारत तथा तेस्रो मुलुकबाट ११ हजार ५७३ नागरिक भित्रिएका छन् । तीमध्ये ६४ जना क्वारेन्टिनमा बसेका छन् भने एक हजार २७७ जना १४ दिनपछि क्वारेन्टिबाट घर फिर्ता भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

( रासस )

About The Author

Leave a Reply

Your email address will not be published.