६० प्रतिशतले सङ्क्रमण घट्यो

नेपालमा कोरोना भाइरसको सङ्क्रमण ६० प्रतिशतले घटेको जनाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालये ६० प्रतिशतले सङ्क्रमण घटेको जनाएको हो । मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले एक महिनाका बीचमा ६० प्रतिशतले सङ्क्रमण घटेको जानकारी दिनुभयो । उहाँका अनुसार भदौको पहिलो साता ४० हजार ३३८ जना सक्रिय सङ्क्रमित रहेकामा अहिले असोजको पहिलो साता त्यो सङ्ख्या १५ हजार ९४२ पुगेको छ । उहाँले कोरोना भाइरसविरुद्धको खोप, सर्वसाधारणले जनस्वास्थ्यका मापदण्ड लागु गरेकाले सङ्क्रमण घटेको बताउनुभयो । शनिबार मात्र १२ हजार ३१ मा कोरोना परीक्षण गर्दा ७६० जनामा सङ्क्रमण देखिएको थियो । अहिले कूल परीक्षणमा सात प्रतिशत मात्र सङ्क्रमण देखिने गरेको उहाँले बताउनुभयो । शनिबार सक्रिय सङ्क्रमित १५ हजार ३४० जना रहेका थिए । पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्लामा मोरङ्, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की र रुपन्देही छन् । नेपालमा सङ्क्रमण दर १८.७ प्रतिशत र सङ्क्रमणमुक्त हुने दर ९६.७ प्रतिशत छ । यस्तै नेपालमा कोरोना भाइरसविरुद्धको खोप लक्ष्यअनुसार लगाएको पाइएको छ । कूल जनसङ्ख्याको ३३ प्रतिशत जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य रहेकामा अहिलेसम्म पहिलो मात्रा ४० प्रतिशत र पूर्णमात्रा ३२ प्रतिशतलाई लगाइएको पाइएको मन्त्रालयका प्रवक्ता डा पौडेलले जानकारी दिनुभयो । पहिलो मात्रा ८७ लाख दुई हजार ७०५ र पूर्णमात्रा ६९ लाख ६२ हजार १६४ जनालाई लगाइएको छ । अठार वर्षभन्दा माथिका दुई करोड १७ लाख ५६ हजार ७६३ जनालाई खोप लगाउने सरकारको लक्ष्य छ । यस्तै काठमाडौँ उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरमा पहिलो मात्रा ८१ प्रतिशत र पूर्णमात्रा ७४ प्रतिशतलाई लगाइएको छ । यस्तै उपत्यकामा १७ लाख ४५ हजार ५७० जना र पूर्ण मात्रा १७ लाख ७९ हजार ८९७ जनालाई लगाइएको छ । उपत्यकामा १८ वर्षमाथिका २१ लाख २९ हजार ७७३ जना रहेका छन् । नेपालमा अहिलेसम्म सङ्क्रमणमुक्त हुने सात लाख ७५ हजार ७२ र सङ्क्रमणबाट ११ हजार २२१ जनाको निधन भइसकेको छ ।

About The Author

Leave a Reply

Your email address will not be published.