स्थानीय चुनावअघि सरकारमा सहभागी हुने लोसपाको चाहना

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल वर्तमान सरकारमा सहभागी हुन सकारात्मक भएको छ । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग पटक-पटक भएको छलफलले सो दलका नेताहरु सरकारमा सहभागी हुनका लागि सकारात्मक भएका हुन् । तर लोसपाले स्थानीय तहको चुनावअघि नै सरकारमा सहभागी गराउन प्रस्ताव गरेको छ ।

प्रधानमन्त्री देउवा मन्त्रीपरिषद् हेरफेर गर्ने तयारी गरिरहँदा लोसपा बोलाएर पनि छलफल गरेका छन् । रक्षा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय खाली छन् । लोसपा आउन चाहे ती मन्त्रालय दिएर सहभागी गराउन सकिने काँग्रेसका नेताले बताए । काँग्रेसका ती नेताले भने, ‘लोसपा सरकारमा आउन सकारात्मक भएको छ, तर स्थानीय तहको चुनावअघि नै सहभागी गराउन भनिरहेको छ, हेरौं के हुन्छ ।’

यता, लोसपाका एक कार्यकारिणी सदस्यले स्थानीय तहको चुनावअघि सरकारमा सहभागी गराए मात्र सहभागी हुने स्थानीय तहको चुनावपछि अवस्था त्यति अनुकुल नरहने भएकाले आफूहरु त्यसमा सहभागी नहुने बताए । तर लोसपाले सरकारमा सहभागी हुनुअघि सर्त राखेको छ । मधेशको मुद्दा सम्बोधन गर्न लोसपाका नेताहरुले सर्त राखेको छ । सरकारमा सहभागी हुनुअघि मधेशका कुनै नकुनै मुद्दा सम्बोधन गर्नुपर्ने हुन्छ, नागरिकता विधेयकलाई अगाडि बढाउनुको साथै संविधान संशोधनका लागि अध्यक्ष गर्न कार्यदल गठन गर्दा पनि हुन्छ भनि लोसपाको सर्त रहेको काँग्रेसका ती नेताले रातोपाटीलाई बताए ।

तर लोसपाका वरिष्ठ नेता शरतसिंह भण्डारीले सरकार आफूहरुको प्राथमिकतामा नरहेको बताए । उनले भने, ‘हामीले एउटा प्रजातान्त्रिक गठबन्धन बनाउन प्रस्ताव गरेका छौं, अहिलेका गठबन्धन स्वार्थी गठबन्धन हो, यसले लङ्टर्म देशलाई भलो गर्न सक्दैन त्यसैले दीर्घकालिन सोचका साथ प्रजातान्त्रिक गठबन्धन बनाउन हामीले आग्रह गरेका छौं ।’ गठबन्धन बनेपछि मात्र सरकारको बारेमा कुरा गर्न सकिन्छ, उनले भने, ‘अहिले सरकार हाम्रो प्राथमिकता होइन, तर गठबन्धन बनिसकेपछि त्यसको बारेमा विचार गर्न सकिन्छ ।’

About The Author

Leave a Reply

Your email address will not be published.