यस कारण रोकियो ‘नाई नभन्नु ल ६’ को प्रदर्शन

चलचित्र ‘नाई नभन्नु ल ६’ को प्रदर्शन रोकिएको छ । वैशाख १ देखि देशभरका सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘नाई नभन्नु ल ६’ को प्रदर्शन रोकिएको हो । निर्माण युनिटले चलचित्रको सेन्सर नभएका कारण प्रदर्शन रोकिएको बताएको छ ।

चलचित्रका कार्यकारी निर्माता भनिएका सञ्जय न्यौपानेविरुद्ध आर्थिक लेनदेनको विषयलाई लिएर चलचित्र विकास बोर्डमा उजुरी परेपछि चलचित्रको सार्वजनिकमा प्रभावित भएको हो । डिएस डिजिटल र एफडी कम्पनीले न्यौपानेविरुद्ध बोर्डमा उजुरी दिएका थिए । न्यौपानेले डिएस डिजिटललाई ११ लाख र एफडीलाई दुई लाख रुपैयाँ तिर्न बाँकी छ । ‘तोकिएको मितिमा चलचित्र प्रदर्शन गर्न हुन सकेन, अब नयाँ मिति तय भएपछि चलचित्र प्रदर्शन गर्छौं’, निर्देशक विकासराज आचार्यले भन्नुभयो ।

यता, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले भने सेन्सरको कारण चलचित्र नरोकिएको बताउनुभएको छ । उहाँले चलचित्र सेन्सरका लागि विकास बोर्डले पत्र दिइसकेको स्पष्ट पार्नुभयो । ‘नाईं नभन्नु ल ६’ विकासराज आचार्यले निर्देशन गरेको चलचित्र हो । सामीप्यराज तिमल्सिना र अरुणदेव जोशीको लेखन रहेको यो चलचित्रमा आशिर्वाद क्षेत्री, आँचल शर्मा, केकी अधिकारी, प्रियंका कार्की, सरोज खनाल, खड्गबहादुर पुन, अभिनेता निखिल उप्रेती र अभिनेत्री सञ्चिता लुइँटेलका छोरा अथर्वको पनि अभिनय छ । आख्यान फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्रको निर्मातामा विकासराज आचार्य र विष्णुमणि दाहाल हुनुहुन्छ ।

वैशाख १ मा अब त्रिपक्षीय भिडन्त
वैशाख १ मा अब तीनवटा नेपाली चलचित्र प्रदर्शनमा आउने भएका छन् । ‘नाईं नभन्नु ल ६’ निर्धारित मितिबाट पछाडि हटेसँगै ‘जारी’, ‘बिहे पास’ र ‘बुलाकी’बीच त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको हो ।

चलचित्र ‘जारी’ र ‘बिहे पास’ दयाहाङ राईको मुख्य भूमिका रहेको छ । उपेन्द्र सुब्बाको लेखन एवं निर्देशन रहेको ‘जारी’मा अभिनेता राईसँगै अभिनेत्री मिरुना मगर शीर्ष भूमिकामा हुनुहुन्छ । यो चलचित्रमा प्रेम सुब्बा, विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बूलगायतको समेत अभिनय छ ।

यस्तै, प्रवेश पौडेल निर्देशित ‘बिहे पास’मा दयाहाङ र प्रकृति श्रेष्ठ शीर्ष भूमिकामा हुनुहुन्छ । उहाँहरूका साथमा शिशिर वाङ्देल, बुद्धि तामाङ, रवीन्द्र झा, श्याम राईलगायतको पनि अभिनय छ । चलचित्र ‘बुलाकी’लाई लक्ष्मण सुनारले निर्देशन गर्नुभएको हो । यो चलचित्रमा सुरक्षा पन्त, नरेन खड्का, विराज विष्ट, सरस्वती खत्री, लक्ष्मी गिरी, प्रकाश कँडेल, सुशील पोखरेल, रमेश बुढाथोकीलगायतको अभिनय छ ।

About The Author

Leave a Reply

Your email address will not be published.