चलचित्र परदेशी २ आजबाट प्रदर्शनमा

नेपाली चलचित्र परदेशी २ आजबाट प्रदर्शनमा आएको छ । शुक्रबारबाट देशभरका हलहरुमा चलचित्र प्रदर्शनमा आएको हो । चलचित्र हेरिसकेपछि रङ्ग पत्रकारसँग कुरा गर्दै अभिनेता दीपकराज गिरीले प्रकाश सपुतको अभिनय एकदमै उत्कृष्ट रहेको र पहिलो फिल्म जस्तो नलाग्ने बताउनुभयो ।

अभिनेता गिरीले प्रकाश सपुतले अभिनयमा पनि आफूलाई प्रमाणित गर्नसक्ने देखिएको बताउनुभयो । उहाँले अभिनेताको रुपमा प्रकाश सपुत उदाएको जानकारी दिनुभयो । अर्को दसैँमा आफूहरुको फिल्म ल्याउने घोषणा गर्नुभयो ।

त्यस्तै वरिष्ठ कलाकार मनोज गजुरेलले फिल्मको दोस्रो भाग उत्कृष्ट रहेको बताउनुभयो । उहाँले गाउँ घरमा देशमा युवाहरु नहुनु र गाउँ रित्तो हुने जस्ता समस्या फिल्ममा देखाइएको बताउनुभयो । यस्तै, अभिनेत्री वर्षा शिवाकोटीले फिल्म राम्रो भएको प्रतिक्रिया पाएको बताउनुभयो ।

अभिनेता प्रकाश सपुतले राम्रो प्रतिक्रिया पाएको र दर्शकहरुले धेरै रुचाएको प्रतिक्रिया दिनुभयो । त्यस्तै अभिनेत्री केकी अधिकारीले दर्शकहरुले फिल्मले मन छोएको जस्तो प्रतिक्रिया दिइरहेको बताउनु भयो ।

गायक प्रकाश सपुतको डेब्यु चलचित्र ‘परदेशी २’ आठ वर्षअघि रिलिज भएको चलचित्र ‘परदेशी’को सिक्वेल हो । चलचित्रमा सपुतसँगै नायिकाहरु केकी अधिकारी, वर्षा शिवाकोटी, रमा थपलिया र नायकहरु दिलीप रायमाझी र नीर शाहको अभिनय छ । चलचित्रलाई गायक तथा सङ्गीतकार नारायण रायमाझीले निर्देशन गरेका हुन् । विदेशिएका नेपाली युवाले भोग्नुपरेको कथा समेटिएको चलचित्रलाई नारायण रायमाझी र राजेश वंशलले मिलेर निर्माण गरेका हुन् ।

About The Author

Leave a Reply

Your email address will not be published.