सानो सपनाले दिएको ठुलो दुःख ‘नीरफूल’

दयाहाङ राई स्टारर सोसल ड्रामा फिल्म ‘नीरफूल’ लाई ‘हाइप्रोफाइल’ दर्शकको साथ मिल्ने क्रम जारी छ । यो मेसोमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले शनिबार कलाकारसँगै यो फिल्म हेर्नुभयो । मन्त्री किरातीसँगै फिल्म हेर्न निर्देशक फूलमान बल, अभिनेताद्वय दयाहाङ र बुद्धि तामाङ सिभिल मलस्थित क्युएफएक्सको हलमा पुग्नुभएको थियो । पूरै समय बसेर फिल्म हेरेपछि मन्त्री किरातीले त्यसको प्रशंसा गर्नुभयो । 

मन्त्री किरातीले फेसबुकमार्फत तस्बिर सेयर गर्दै फिल्मको प्रशंसामा पोस्ट लेख्नुभएको छ । उहाँ लेख्नुहुन्छ, “चलचित्र ‘नीरफूल’ हेरेपछि भूकम्पले सामाजमा पारेको प्रभाव, मान्छेको सानो सपनाले दिएको ठुलो दुःखलगायत चलचित्रले अनगिन्ती प्रश्न उठाएको छ । मुख्यतः सहर र गाउँबिचको सामाजिक, सांस्कृतिक सवाल बेजोडसँगले प्रस्तुत भएको रहेछ ।” विसं २०७२ को भूकम्पले सिर्जना गरेको कथा प्रस्तुत भएको फिल्मले उक्त विपत्तिपछि धादिङको रुबीभ्यालीको एक परिवारले भोग्नु परेको समस्या र बिछोडको दुःखान्त पेस गर्छ ।

पारिवारिक बिछोडको कथासँगै राज्यप्रणालीको कमजोर पक्षसमेत उजागर गरिएको चलचित्र गणेश हिमालमुनिको रुबी उपत्यका, रसुवा र काठमाडौँमा छायाङ्कन गरिएको छ । चलचित्रले मौलिक, यथार्थपरक र ‘सिस्टम भर्सेस भुइँमान्छे’ को सन्दर्भ उठान गरेको भन्दै समीक्षकहरूबाट प्रशंसा बटुलिरहेको छ ।   

About The Author

Leave a Reply

Your email address will not be published.