युवराज खतिवडा बुधबार मन्त्रीका रूपमा पुनर्नियुक्ति लिँदै

अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले मंगलबार पदबाट राजीनामा दिएका छन् । राष्ट्रिय सभा सदस्य पद मंगलबार मध्यरातिबाट स्वतः सकिने भएपछि उनले मन्त्री पदबाट राजीनामा दिएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले राजीनामा स्वीकृत गरी उनले सम्हालेका मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै तोकेकी छन् ।

प्रधानमन्त्री ओलीले खतिवडालाई पुनर्नियुक्तिका लागि सिफारिस गर्ने र बुधबार नै उनले अर्थ एवं सूचना तथा सञ्चारमन्त्रीका रूपमा शपथ लिने प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । ‘कतिखेर शपथ हुन्छ भन्ने समय तय भइसकेको छैन,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘उहाँले बुधबार मन्त्रीका रूपमा पुनर्नियुक्ति लिँदै हुनुहुन्छ ।’ संविधानको धारा ७८ मा राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसद्को सदस्य नभएको कुनै व्यक्तिलाई मन्त्री पदमा नियुक्त गर्न सक्ने र मन्त्रीले शपथग्रहण गरेको मितिले ६ महिनाभित्र संघीय संसद्को सदस्य हुनुपर्ने प्रावधान छ  । संविधानको यही प्रावधानका आधारमा खतिवडा पुनर्नियुक्त हुन लागेका हुन् ।

About The Author

Leave a Reply

Your email address will not be published.